११ मंसिर, सर्लाही । सर्लाही ४ बाट वामगठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका शिवपूजन राय यादवको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको छ । कुटनीतिक राहदानी दुरुपयोग गरेको अभियोगमाथि परेको उजुरीमा कारबाही गर्दै आयोगले उनको उम्मेदवारी खारेज गरेको हो। यादव नेकपा माओवादी केन्दका तर्फबाट उम्मेदवार बनेका थिए । वामगठबन्धनका उम्मेदवार रायको उम्मेदवारी खारेज भएपछि कांग्रेस उम्मेदवार अमरेशकुमार सिंहलाई चुनाव जित्न सजिलो बनेको छ ।
२०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा सर्लाही ६ मा निर्वाचित यादवले तत्कालीन तमलोपा अध्यक्ष महन्थ ठाकुर र कांग्रेस उम्मेदवार अमरेशकुमार सिंहलाई पराजित गरेका थिए। त्यतीखेर यादव मधेसी जनअधिकार फोरमबाट उम्मेदवार बनेका थिए । २०७० को संविधानसभा निर्वाचनमा भने महेन्द्र राय यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टीबाट सर्लाही ६ मा उम्मेदवार बनेका उनी कांग्रेसका अमरेशकुमार सिंहसँग पराजित भए।
पूर्वसभासद् यादवले कूटनीतिक राहदानी दुरुपयोग गरेकाले उनको उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी परेको थियो।
विशेष अदालतले २६ साउन २०७२ मा कूटनीतिक राहदानीमा लेखिएको कुरा हेरफेर गरी अनाधिकृत मानिस विदेश पठाई भ्रष्टाचार गरेको फैजदारी अभियोगमा रायलाई चार महिना कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।
तमसपापछि उनी राजपा प्रवेश गरेका थिए । स्थानीय तहको निर्वाचनअघि यादव माओवादी केन्द्रमा प्रवेश गरी सर्लाही ४ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका थिए।
उनीविरुद्ध सोही क्षेत्रका स्वतन्त्र उमेदवार गणेशकुमार सिंहले जिल्लामा र अर्का स्वतन्त्र उमेदवार अनिलकुमार सिंहले कात्तिक १९ गते आयोगमा निवेदन दर्ता गराएका थिए ।












