११ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् विपीपुत्र शशांक कोइरालाले एमाले अध्यक्ष केपी ओलीको भनाइप्रति कडा जवाफ फर्काएका छन् । ‘कांग्रेसका संस्थापक नेता विपी कोइराला बाँचिरहेको भए अहिले एमालेमा प्रवेश गर्नुहुन्थ्यो’ भनी ओलीले दिएको अभिव्यक्तिको जवाफ दिएका हुन् ।
नवलपरासीको नवलपुर क्षेत्र नं १ बाट प्रतिनिधि सभाका सदस्यका उम्मेदवार रहेका कोइरालाले आइतबार नवलपुरको दलदलेमा पत्रकारहरुसँगको कुराकानीमा बोल्दै भने- ‘आफ्ना पिता विपी कोइराला अहिलेसम्म जीवित रहेको भए एमाले अध्यक्ष केपी ओली कांग्रेसमा प्रवेश गर्नुहुन्थ्यो ।’
कम्युनिस्ट पार्टीभित्रका उदारवादी कार्यकर्ताहरु देशव्यापी रुपमा नेपाली कांग्रेसमा प्रवेश गरिरहेको दावी समेत उनले गरे । दैनिक सयौंको संख्यामा अन्य पार्टीका कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका घट्नाले अत्तालिएर ओलीले विपीप्रति नकारात्मक अभिव्यक्ति दिएको टिप्पणी महामन्त्री कोइरालाले गरे ।

विपी कोइराला जीवित रहुञ्जेल तात्कालीन पञ्चायतका कार्यकर्ता र कम्युनिस्ट नेताहरुले गालीगलौज मात्र गर्ने गरेको विपीपुत्रले उल्लेख गरे । विपी स्वयम्ले आफूले भोगेको घटनाका बारेमा राखिएको अभिलेखलाई आत्मवृतान्त र जेल जर्नल जस्ता पुस्तकका रुपमा प्रकाशित भएपछि मात्रै केपी ओली र प्रचण्ड जस्ता नेताहरुले पनि नेपालमा सबैभन्दा मन पर्ने नेताको रुपमा उहाँको नाम लिने गरेको दावी शशांकले गरे ।
एक अर्को प्रशंगमा कांग्रेस महामन्त्री कोइरालाले कम्युनिष्टहरुले अधिनायकवादी शासन स्थापना गर्ने दम्भ प्रदर्शन गरेको र टुंगो लागिसकेको राजनीतिक व्यवस्थालाई पुनः अस्थिरतामा लैजाने योजना बनाएको आरोप लगाए ।
कांग्रेसको आगामी मार्गबारे बोल्दै महामन्त्री कोइरालाले आफ्ना पिता विपी प्रधानमन्त्री हुदाँ सबै नागरिकको हैसियत आफूसरह बनाउने संकल्प लिएको स्मरण गर्दै समाजवादी चिन्तन बोकेको कांग्रेसले सबै नेपालीको हैसियत उच्च बनाउने लक्ष्य लिएको बताए ।











