१० मंसिर, काठमाडौं । पहिलो चरणको निर्वाचनअन्तर्गत ३२ जिल्लामा प्रतिनिधि र प्रदेश सभाका लागि मतदान आइतबार सम्पन्न भएको छ । मतदान सकिएपछि हरेक स्थानमा मतपेटिका पोको पारेर सदरमुकाम तथा सुरक्षित स्थानमा ल्याउने तयारी गरिएको छ । आज मंसिर १० गते निर्वाचन सम्पन्न भएका स्थानहरुका मतपत्रसहितका मतपेटिकाहरु भने अब ११ दिनसम्म सुरक्षित स्थानमा थन्क्याएर राखिने छ र दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि मात्रै दशैभरका मत गन्न सुरु गरिने छ ।
आइतबार भएको निर्वाचनबाट ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभा सदस्य निर्वाचित हुनेछन् । तीव्र प्रतिश्पर्धाका रुपमा सम्पन्न भएको मंसिर १० गतेको चुनावी परिणाम पर्खनका लागि ती क्षेत्रका उम्मेदवारले ११ दिनसम्म धैर्य गर्नुपर्ने छ । यो अवधिमा मतपेटिका सुरक्षित रहन्छन् या रहन्नन् भन्ने विभिन्न आशंका समेत दलहरुमा रहेको देखिन्छ ।
तर, निर्वाचन आयोगले सम्बन्धित जिल्ला निर्वाचन अधिकृत र मुख्य निर्वाचन अधिकृतको योजनामा राजनीतिक दलका प्रतिनिधिको रेखदेख तथा कडा सुरक्षा पहरा दिएर मतपत्रसहितका मतपेटिका राखिने व्यवस्था मिलाएको छ ।
सुरक्षाको पहिलो घेरामा प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र अन्तिम घेरामा नेपाली सेना रहने गरी मतपत्रसहितका मतपेटिकाको सुरक्षा गरिने आयोगले जनाएको छ। कतिपय जिल्लामा मतपेटिका राखिएको ठाउँमा सिसिटिभी पनि जडान गरिएको छ। राजनीतिक दलका प्रतिनिधिले मतदान केन्द्रबाट जिल्ला सदरमुकामसम्म मतपेटिका ल्याउँदादेखि मतपेटिका सुरक्षित राखिएको स्थानमा निरन्तर निगरानी गर्ने छन् । यसकार मतपेटिकाको सुरक्षामा शंका गर्नुपर्ने कुनै कारण देखिँदैन । तर मतदान गरिसकेका मतदाता र उम्मेदवारलाई मतपरिणाम के होला भन्ने कौतुहलता भने लामो समयसम्म लागिरहने भएको छ ।












