१० मंसिर, रुकुम । रुकुमको दुईवटा मतदान केन्द्रमा दलकै एजेन्टले एसिड हालेर मतपत्र जलाएपछि त्यहाँ पुनः अर्को दिन मतदान हुने भएको छ । आज भएको मतदानको क्रममा एसिड परेर मतपत्र जलेपछि पुनः मतदान गरिने निर्वाचन आयोगले जानकारी दिएको हो ।
रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–५ स्थित रत्ना निमावि मतदान केन्द्र र आठबीसकोट नगरपालिका–१२ गत्तासैना मतदान केन्द्रमा पुनःमतदान गरिने रुकुम पश्चिमका मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले जानकारी दिए ।
यी दुई मतदान केन्द्रमा आगामी मंसिर २१ गते मतदान गरिने राईले बताए। रत्ना निमाविको मतदान केन्द्रमा प्रतिनिधिसभाको र गत्तासैना मतदान केन्द्रमा समानुपातिकतर्फको मात्र मतदान हुने उनले बताए ।
मतदान केन्द्रको मतपेटिकामा एसिड राख्नेमा कांग्रेसका एजेन्ट रहेको प्रारम्भिक समाचार प्राप्त भएको छ । एक महिलाई अनुसन्धानका लागि पक्राउ गरिएको र अनुसन्धान बाँकी रहेको रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिएका छन् । रत्ना निमाविमा २५० र गत्तासैनामा ३६५ मत खसेपछि एसिड प्रयोग गरेर मतपत्र जलाइएको थियो । मतपत्र जलेपछि तत्कालै ती स्थानको मतदान स्थगित गरिएको थियो ।












