१० मंसिर, काठमाडौं । जाजरकोटमा अपहरण र झडप तथा बेपत्ताका घटनाले मतदान प्रभावित भएको छ । विप्लव माओवादीले निर्वाचन बहिष्कार गर्न भन्दै स्थानीय जनप्रतिनिधिको अपहरण गरेको घटनाले त्रसित बनेका मतदाता मतदान केन्द्र जान सकेका छैनन् । त्यस्तै गएराति बामगठबन्धन र काँग्रेस कार्यकर्तावीच भएको झडपपछि चार पाँच जना कार्यकर्ता बेपत्ता भएको घटनाले मतदाता झनै त्रसित बनेका हुन् ।
कुशे गाउँपालिका–८, अवलरिजा मतदान केन्द्र नजिकै गएराति दोहोरो झडप हुँदा दर्जन घाईते भएका छन् भने केही बेपत्ता छन् । झडप कारण रमेश रोकाय, प्रेम रोकाय, खिम भण्डारी, मदन भणडारीलगायत दर्जन घाईते भएका छन् । घाईते मध्ये बाम गठबन्धनका प्रेमको अवस्था गम्भीर रहेको छ । झडपमा परी रमेशको हात र खिमको खुट्टा भाँचिएको छ । झडपमा परेका मदन लगायत पाँच जना वेपत्ता रहेको वडा अध्यक्ष अमर रोका मगरले जानकारी दिए । झडपका कारण सरस्वती माध्यमिक विद्यालय अवलरिजा मतदान केन्द्रमा भोट हाल्न आउन मतदाता डराएको समेत अध्यक्ष मगरले बताए ।
समयमा उद्धार नभए घाईतेको ज्यान जाने खतरा बढेको छ भने घटनास्थलमा सुरक्षाकर्मी पुगेका छैनन् । १० घण्टाअघि खबर गर्दा पनि सुरक्षाकर्मी नआएको मगरले बताए । घटनास्थललाई समयमा नियन्त्रणमा नलिए थप झडप हुने र त्रासका कारण मतदाता भोट हाल्न नगएको उनको भनाइ छ ।
उक्त मतदान केन्द्रमा हालसम्म २५ जनाले मात्रै मतदान गरेका छन् । गएराति नै कुशे ९ को पैंक र चौराँटामा पनि दोहोरो झडप हुँदा ४ जना घाईते भएका थिए । घटनास्थल विकट भएकोले सुरक्षाकर्मी पुग्न समय लागेको सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले बताएका छन् ।
त्यस्तै कुशे गाउँपालिका–१ स्थित तपोधेनु आधारभुत विद्यालय मतदान केन्द्र काफलपाटामा मतदान २० मत पनि खस्न सकेको छैन । विप्लव माओबादीको धम्कीका कारण मतदाता भोट हाल्न जान डराएको स्थानीय कालीबहादुर सिंहले बताए । तीन दिन अघि मतदान बहिष्कार गर्ने भन्दै विप्लव माओवादीका कार्यकताले सोहीे वडाका वडाध्यक्ष गोपालबहादुर नेपालीलाई अपहरण गरेका थिए । उनको अवस्था अहिलेसम्म अज्ञात छ ।













