१० मंसिर, काठमाडौं । पहिलो चरणको निर्वाचनअन्तर्गत आज भैरहेको निर्वाचनमा राजनीतिक दलका नेताहरुले समेत आआफ्नो क्षेत्रबाट मताधिकार प्रयोग गरेका छन् । गृहजिल्लाबाट प्रतिनिधि सभा तथा प्रदेश सभामा उम्मेदवार बनेका नेताहरुले विहानै आफ्नै लागि मतदान गरेका छन् । आफ्नो मतदाता नामावली नरहेको क्षेत्रबाट प्रतिनिधि सभा उम्मेदवार बनेका नेताहरुले भने आफ्नै लागि मतदान गर्न पाउने छैनन् ।
नेकपा माओवादी केन्द्रका नेता एवं गोरखा २ का प्रतिनिधिसभा उम्मेदवार नारायणकाजी श्रेष्ठले जौबारीस्थित परोपकार आदर्श बहुमुखी क्याम्पसको केन्द्रमा विहानै मतदान गरेका छन् ।
त्यस्तै सिन्धुपाल्चोक–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अग्नि सापकोटाले सिन्धुपाल्चोकको साँगाचोकगढी–४ स्थित पञ्चकन्या मावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।
नेकपा माओवादी नेता तथा विनाविभागी मन्त्री जनार्दन शर्माले पनि विहानै आफ्नै क्षेत्रबाट मतदान गरेका छन् ।
नेकपा एमालेका सचिव योगेश भट्टराईले ताप्लेजुङको मैवाखोला गाउँपालिका-३ नारायणी उमावि केन्द्रबाट मतदान गरेका छन् । प्रदेश नं १ बाट मुख्यमन्त्री बन्ने उद्देश्यसहित भट्टराई खोटाङबाट प्रदेश सभा सदस्यका लागि उम्मेदवार छन् ।
















