९ मंसिर, काठमाडौं । मंसिर १० गते आइतबार मुलुकमा ऐतिहासिक निर्वाचन हुँदै छ । देश संघीयतामा गएपछि प्रदेश सभाको गठनको व्यवस्थासहित आइतबार प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि पहिलो चरणको निर्वाचन हुँदै छ । पहिलो चरणअन्तर्गत आइतबार ३२ जिल्लामा निर्वाचन हुँदै छ । पहिलो चरणअन्तर्गत आइतबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी शनिबार पत्रकार सम्मेलनमार्फत निर्वाचन आयोगले दिएको छ ।
कुनकुन जिल्लामा हुँदै छ आइतबार मतदान
पहिलो चरणअन्तर्गत ३२ जिल्लामा मतदान हुँदै छ । सबै जिल्लामा मतदान केन्द्रको सम्पूर्ण तयारी पूरा भएको छ । आइतबार मतदान हुने जिल्लाहरु निम्न रहेका छन् :
प्रदेश नं १ : सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर र खोटाङ,
प्रदेश नं ३ : नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप
प्रदेश नं ४ : मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा,
प्रदेश नं ५ : रूकुम (पूर्वी भाग) र रोल्पा
प्रदेश नं ६ : रूकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा,
प्रदेश नं. ७ : दार्चुला, बझाङ, बाजुरा र वैतडी ।
तोकिएका सबै जिल्ला तथा मतदान केन्द्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षाकै लागि मध्यनजर गर्दै शनिबार रातिदेखि आइतबार दिनभर ३२ जिल्लामा सार्वजनिक यातायातका साधन तथा निजी सवारी साधन चलाउन रोक लगाइएको छ ।
निर्वाचन हुने ३२ जिल्लामा शनिबार राति १२ बजेदेखि आइतबार साँझ ५ बजेसम्म सवारी चलाउन पाइने छैन ।
३२ जिल्लामा सवारी साधन चलाउन नपाइने भएकोले ठूला राजमार्ग समेत प्रभावित हुने भएका छन् । पृथ्वी राजमार्ग र अरनिको राजमार्ग, विपी राजमार्ग यसबाट प्रभावित हुनेछन् ।
सुरक्षा निकाय र निर्वाचन प्रयोजनका लागि सवारी पास लिएका सवारी साधन तथा एम्बुलेन्स र दमकल भने निर्वाध संचालन हुने छन् ।













