६ मंसिर, धनुषा । कांग्रेस नेता विमलेन्द्र निधिसँग धनुषा क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रतिश्पर्धामा रहेका राजपा नेता राजेन्द्र महतोले मधेसी दलले निर्वाचन नजिते फेरि मधेस आन्दोलन हुने चेतावनी दिएका छन् । धनुषाको नगराइन नगरपालिकास्थित लगमा वुधबार आयोजित चुनावी सभामा बौल्दै महतोले नेता महतोले राजपाले जिते मात्रै मधेसको जित हुने बताए ।
आफ्ना प्रतिश्पर्धी कांग्रेस नेता निधिप्रति लक्षित गर्दै महतोले भने, ‘मधेशी जनताकै मत लिएर मधेसी जनतामाथि नै गोली चलाउने हत्यारालाई यस पटकको निर्वाचनबाटै मधेसी जनताले हिसाब लिने छ ।’
कांग्रेसले देशलाई घाटा मात्रै गरेको भन्दै महतोले भने, ‘काँग्रेस सधैँ सत्तामा रहेको छ, तर पनि यहाँका जनकपुर चुरोट कारखाना बन्दभयो, जनकपुर भिठ्ठामोड, जटहीलगायतका सडकको अवस्था जीर्ण छ, यहाँसम्म कि जानकी मन्दिरलाई पनि विश्व सम्पदा सूचीमा ल्याउन सकिएन। राजपा जितेर गयो भने यी सबै मुद्दाको सम्बोधन हुन्छ ।’
आफूहरुको आन्दोलन मधेशअधिकार सम्पन्न नभएसम्म जारी रहने उल्लेख गर्दै उनले मधेसी जनतालाई अधिकार सम्पन्न नबनाएसम्म आन्दोलन नरोकिने बताए ।












