६ मंसिर, काठमाडौं । केबल वितरक संस्थाहरूको दबाबपछि सरकारले कार्यान्वयन गर्न खोजेको ‘क्लिन फिड’ र टेलिभिजनको ‘डिजिटलाइज’ प्रणाली तत्कालका लागि कार्यान्वयनमा नआउने भएको छ । यसअघि सरकारले सञ्चारमाध्यममार्फत ‘क्लिन फिड’ अर्थात् विज्ञापनरहित सामग्री प्रसारणमा ल्याउने निर्णय गरेको थियो ।
सूचना तथा सञ्चार मन्त्रालयका अनुसार सरकारले ‘क्लिन फिड’ प्रणाली गत १ साउनदेखि लागू गर्न खोजेको थियो । तर, केवल वितरकबाट विरोध भएपछि प्रणाली लागू नै भएन ।
त्यसपछि २९ कात्तिकबाट लागू हुने गरी टेलिभिजन प्रसारणलाई ‘डिजिटलाइज’ गर्न खोजियो । सञ्चार मन्त्रालयले सोही अनुसार सबै केबल वितरकलाई निर्देशन दियो । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा ‘एनालग’बाट प्रसारण हुने टेलिभिजन तरंग तत्काल बन्द गरिए । तर, केबल वितरकको दबाबका अगाडि सरकारको निर्णय तीन दिन पनि टिकेन ।
मन्त्रालयले टेलिभिजन प्रसारणलाई तत्काल ‘डिजिटलाइज’ नगरिने भन्दै पुनः सूचना सार्वजनिक गरेको छ । मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठले टेलिभिजन प्रसारणको ‘डिजिटलाइज’ गर्ने कार्यक्रम महिना दिनका लागि स्थगित गरिएको बताए । उनले भने, ‘टेलिभिजन प्रसारणलाई डिजिटलाइज गर्ने कार्यक्रम तत्कालका लागि स्थगित गरिएको छ । आन्तरिक तयारी नपुगेको प्रतिक्रिया आयो । निर्वाचन आयोगबाट पनि गुनासो आयो । त्यसो हुँदा महिना दिनका लागि भनेर कार्यक्रम स्थगित गरिएको छ ।’
मन्त्रालयका अनुसार अब मंसिर मसान्तपछि मात्रै टेलिभिजनको ‘डिजिटलाइज’ गर्ने प्रणाली लागू हुनेछ । सहसचिव श्रेष्ठले भने, ‘अहिले चुनावसँग सम्बन्धि सूचना प्रसारण भइरहेका रहेछन् । एनालग प्रसारण बन्द हुनेबित्तिकै ती कार्यक्रम पनि बन्द हुने अवस्था आउने भयो । त्यसो हुँदा निर्वाचन आयोगले चुनाव अवधिभर यो प्रणाली लागू नगर्नु भन्यो । मन्त्रालयले अब मंसिरपछि मात्रै टेलिभिजनको डिजिटलाइज गर्ने कार्यक्रम लागू गर्ने छ ।’ (यो समाचार नयाँपत्रिकामा टेकराज थामीले लेखेका छन् ।)
राष्ट्रिय प्रसारण नियमावली ०५२ को आठौँ संशोधनको नियम ‘क’ अनुसार टेलिभिजन प्रसारणलाई महानगरपालिकाभित्र १५ वैशाख ०७४ भित्र र उपमहानगरपालिका तथा नगरपालिकामा १५ कात्तिक ०७४ भित्र डिजिटलाइज गरिसक्नुपर्ने थियो । तर, केबल वितरकको विरोधपछि यो नियम लागू हुन सकेको छैन ।
टेलिभिजनको डिजिटलाइजपछि मात्रै ‘क्लिन फिड’ सम्भव
मुलुकभर प्रसारण हुने सम्पूर्ण टेलिभिजनको ‘डिजिटलाइजेसन’पछि मात्रै ‘क्लिन फिड’ प्रणाली लागू गर्न सम्भव हुने सञ्चार मन्त्रालयको दाबी छ । मन्त्रालयका अनुसार एनालग प्रसारणमा ‘क्लिन फिड’ प्रणाली लागू गर्न सम्भव छैन ।
मन्त्रालयका सहसचिव श्रेष्ठले भने, ‘अहिले धेरै टेलिभिजन एनालग प्रणालीमा प्रसारित छन् । यसमा ‘क्लिन फिड’ प्रणाली लागू गर्न सकिन्न । यसका लागि टेलिभिजनको ‘डिजिटलाइज’ नै गरिनुपर्छ । त्यसो हुँदा ‘क्लिन फिड’ प्रणाली सबै टेलिभिजन ‘डिजिटलाइज’ भएपछि मात्रै सम्भव छ ।’
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै ४० लाख टेलिभिजनको ‘डिजिटलाइज’ गर्नुपर्नेछ । यसका लागि प्रत्येक टेलिभिजनलाई एउटा ‘सेट टप बक्स’ चाहिन्छ । त्यसो हुँदा उपत्यकामा मात्रै तत्काल ४० लाख ‘सेट टप बक्स’ आवश्यक पर्छ । तर, नेपाली बजारमा अहिले १० देखि १२ लाखको संख्यामा मात्रै ‘सेट टप बक्स’ उपलब्ध छन् ।












