३ मंसिर, काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको निधनका कारण नेकपा एमालेले देशैभरका आफ्ना चुनावी कार्यक्रम स्थगित गरेको छ । प्रचण्डपुत्र तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रकाश दाहालको आकस्मिक र असामयिक निधनले एमालेलाई स्तब्ध बनाएको भन्दै आफ्ना पूर्व निर्धारित चुनावी कार्यक्रम आज एक दिन एक घण्टाका लागि देशैभर स्थगित गरिएको एमालेले जनाएको छ ।
एमाले केन्द्रीय निर्वाचन कमिटीका प्रवक्ता विष्णु रिमालले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रकाशको निधनप्रति सम्मान व्यक्त गर्न र शोकाकुल परिवारप्रति समवेदना प्रकट गर्न आज दिउँसो २ बजेदेखि ३ बजेसम्मका देशैभरका चुनावी कार्यक्रम स्थगित गरेको जनाइएको छ ।।
प्रकाश दाहालको निधनको जानकारी पाउन साथ एमाले अध्यक्ष केपी ओलीले प्रचण्डलाई काठमाडौं पठाउन झापामा विदाइ गरेको तथा वरिष्ठ नेता झलनाथ खनाल तथा अर्का नेता माधव नेपालले नर्भिक अस्पताल पुगी समवेदना प्रकट गरेको एमालेको विज्ञप्तीमा जनाइएको छ ।













