२६ फागुन, काठमाडौं । संविधान सभामा चौथो ठूलो शक्तिका रुपमा रहेको राप्रपा नेपालभित्रै पद्मसुन्दर लावतीले समानान्तर केन्द्रीय समिति बनाएपछि पार्टी अध्यक्ष कमल थापा भने राप्रपासँग एकीकरण गर्न तत्पर भएका छन् । राप्रपा नेपाल र राप्रपाबीच एकताको प्रयासमा बुधबार औपचारिक वार्ता समेत हुने भएको छ । दुबै पार्टीको वार्ता समितिबीच बुधबार विहान ११ बजे छलफल गर्ने जनाएका छन् ।
राप्रपाको संसदीय दलको कार्यालय सिंहदरवारमा हुने दुवै दलले जानकारी दिएका छन् । राप्रपाले महामन्त्री दिपक बोहोराको संयोजकत्वमा वार्ता समिति बनाएको छ । समितिमा भुवन पाठक र रामकृष्ण भट्टराईलाई पनि सदस्य थप गरिएको छ ।
राप्रपा नेपालले भने सह अध्यक्ष केशर बहादुर विष्टको संयोजकत्वमा उपाध्यक्ष निरन्जन थापा, उपाध्यक्ष डा। धवल शम्शेर राणा, महामन्त्री चन्द्रबहादुर गुरुङ र केन्द्रीय सदस्य राजेन्द्र लिङ्देन सदस्य रहेको वार्ता समिति गठन गरेको छ ।
राप्रपाको मंगलबार बसेको केन्द्रीय पदाधिकारी तथा केन्द्रीय कार्य सम्पादन समितिको संयुक्त बैठकले पार्टी एकता प्रकृया अघि बढाउन राप्रपाले वार्ता समिति गठन गरेकोमा स्वागत गरेको छ ।
‘बृहत् राष्ट्रवादी प्रजातान्त्रिक शक्ति’ निर्माण गर्ने भन्दै राप्रपा र राप्रपा नेपालबीच एकताका लागि पछिल्लो समय शीर्ष तहमै पटक पटक वार्ता र छलफल भएको थियो ।











