१ मंसिर, विराटनगर । नेकपा माओवादी केन्द्रले उठाउँदै आएको प्रत्यक्ष कार्यकारी प्रमुखको एजेण्डालाई उसले आसन्न निर्वाचनको प्रमुख एजेण्डा बनाएको छैन । नेकपा एमालेसँग गठबन्धन बनाएर निर्वाचनमा गएका कारण माओवादीको प्रमुख एजेण्डा ओझेलमा परे पनि एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी ९राष्ट्रिवादी० ले भने यो एजेण्डालाई प्राथमिकता दिएको छ । चुनाव प्रचारका क्रममा रहेका यस दलका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले स्थिर सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्नेमा जोड दिएका छन् ।
एराप्रपारा पार्टी मोरङद्वारा शुक्रबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने —“प्रत्येक नौ–नौ महिनामा सरकार परिवर्तनले गर्दा मुलुकमा अस्थिरता उत्पन्न हुनाले संविधान संशोधन गरी कार्यकारी निर्वाचित प्रधानमन्त्री र राष्ट्र प्रमुखमा राजसंस्था राख्नका लागि जनताले आफ्नो पार्टीलाई संसद्मा प्रतिनिधित्व गराउने छ ।”
अध्यक्ष डा लोहनीले जनताको चाहना विपरित लहडको भरमा नेपाललाई धर्मनिरपेक्ष बनाएको बताउँदै हिन्दू राष्ट्र भएमा मात्र विश्वमा नेपालको पहिचान हुने र मुलुकमा धार्मिक पर्यटनको विकास भई आर्थिक संमृद्धि हुने दावी गरे ।
भ्रष्टाचार मुलुकको मुख्य शत्रु भएको उल्लेख गर्दै उनले मुलुकको आर्थिक विकास तथा युवालाई रोजगारी उपलब्ध गराउन तराई–मधेश क्षेत्रमा विकासको पूर्वाधार खडा गरी विशेष औद्योगिक क्षेत्र निर्माण गर्नुपर्नेमा जोड दिए ।
डा लोहनीले अहिलेको अवस्थामा तीन राप्रपाबीच एकता हुने कुनै सम्भावना नरहेको पनि बताए ।












