दिपेश पौडेल
२६ फागुन, रौतहट । रौतहटमा आज दिउसो आगलागी हुदा ८ घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । गंगा पिप्रा वडा नं. ९ मा अचानक आगलागी हुदा सो बस्तीमा रहेको मध्ये ८ घर जलेर नष्ट भएको छ । दिउसो १२ बजे स्थानिय जोगेन्द्र पासवानको घर बाट सल्कीएको आगो बस्तीका अन्य घरहरुमा पनि फैलिएको थियो । खाना पकाएर बाहिर राखेको खरानी बाट आगो सल्कीएको स्थानिय सुरेन्द्र पासवानले बताए । तिव्र गतिमा चलिरहेको हावाका कारण आगोले एकै छिनमा विकराल रुप लिएको तथा हेर्दा हेर्दै ८ घर खरानी भएको उनले बताए ।
आगलागीका कारण बस्तीको ८ घरमा रहेको सम्पूर्ण लताकपडा तथा खाद्यान्न नष्ट भएको छ भने घर भित्र रहेका फर्निचर र नगद पनि जलेको छ । हावाका कारण आगो निकै चाडो फैलिए पछि स्थानियले घरमा रहेको कुनै सामान निकाल्ने मौका नै पाएनन । आगोले स्थानिय सुरेन्द पासवान, जोगिन्द्र पासवान, महेन्द्र पासवान, रकटु पासवान लगायतको घर नष्ट भएको छ । आगलागीमा स्थानिय लखन पासवानको १ लाख २५ हजार नगद समेत जलेको छ ।
आगलागीको खबर पाए लगतै नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो भने गौर नगरपालिकाको वारुण यन्त्रले झण्डै एक घण्टा पछि मात्रै आगो नियन्त्रणमा लिन सफल भएको थियो । आगलागीका कारण झण्डै १५ लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भीक अनुमान रहेको छ













