२८ झापा, कात्तिक । झापा क्षेत्र नं. ३ मा प्रतिनिधि सभाका उम्मेदवार नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आफूलाई छाडेर झापाली जनताले राजवादीलाई रोज्न नसक्ने दावी गरेका छन् । चुनावी प्रचार अभियानमा रहेका सिटौलाले जनआन्दोलनका दमनकारीसँग आफ्नो प्रतिस्पर्धा हुनै नसक्ने बताएका हुन् ।
झापाका जनता जनआन्दोलन, शान्ति प्रक्रिया र गणतन्त्रको पक्षमा रहेकाले आन्दोलनका दमनकारी र राजावादीहरुलाई बहिष्कार गर्ने उनले दावी गरे ।
नेपाली रेडियो नेटवर्क र रिपोटर्स क्लबले झापास्थीत सिटौला निवासमा गरेको कार्यक्रममा उनले साढे तिन अरब भन्दा बढीका ठुला आयोजनाहरु झापा क्षेत्र नं। तीनमा आफुले मात्रै पारेको बताए ।
पहिलो संविधान सभाको निर्वाचनमा आफु र कांग्रेस कमजोर भएका बेला मुलुकले संविधान पाउन नसकेको र आफु निर्वाचित भएपछि संविधान मस्यौदा समितिको सभापति नै भएर संविधान जारी गर्न मुख्य भूमीका खेलेकोले अव पनि झापालीले आफुलाई त्यस्तै अवसर दिने विश्वास उनले व्यक्त गरे ।
उनले अहिले सम्म प्राप्त लोकतन्त्र, गणतन्त्र, संघीयता र शान्ति प्रक्रियालाई संरक्षण र संस्थागत गर्दै मुलुकलाई आर्थिक समृद्धि तर्फ लैजान काँग्रेस नै आवश्यक भएको दावी गरे ।
आफू गणतन्त्र, लोकतन्त्र र शान्ति प्रक्रिया पक्षधरको उम्मेदबार भएकाले कांग्रेसका साथै एमाले र माओवादी केन्द्रका समर्थकहरुले पनि आफुलाई मतदान गर्ने नेता सिटौलाले विश्वास व्यक्त गरे ।
उनले झापाको विकासका लागि आफ्ना प्रतिस्पर्धी भन्दा आफुले धेरै काम गर्न सक्ने भएकाले मतदाताहरुले आफुलाई रोज्ने दावी गरे ।
हरेक गाँउमा बाटो, ढल, खानेपानी, पुलहरु, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा सयौं योजनाहरु आफुले पारेको र धमाधम कामहरु भईरहेको उनले बताए ।
उनले भने ‘राजा ज्ञानन्द्रको कार्यकाल चार वर्ष चल्यो, मेरा एक जना प्रतिस्पर्धी त्यतिबेला खुवै हर्ताकर्ता थिए, जति काम गरेको भए पनि हुथ्यो, तर त्यो अवधिमा १० लाख पनि ल्याउन नसक्ने, मनोनित जिविस सभापति पनि भए, तर सिन्को भाँच्न सकेनन्, त्यसैले अव पनि उनले केही गर्न सक्दैनन ।’
त्यतिबेला राजाबादीहरुले जनतालाई दमन गर्ने, देशलाई दोहन गर्ने बाहेक केही नगरेको कुरा जनताले अहिले पनि सम्झिरहेको उनले बताए ।
“म संघर्ष र मेहेनतबाट उठेको मान्छे हुँ, शान्ति प्रक्रिया, जनआन्दोलन, गणतन्त्र स्थापना र विकास निर्माणका लागि जनताले मलाई छोड्दै छोड्दैनन्,” काँग्रेस नेता सिटौलाले थपे ।
जनआन्दोलन र शान्ति प्रक्रियाका सहयात्री दलका शिर्ष नेताहरुलाई स्मरण गर्दै उनले विगतका सहयात्रा र अठोटलाई झुलेर जनआन्दोलनको भावना विपरित अगाडी जान कुनै नेताले नपाउने बताए ।
परिवर्तन नचाहनेहरुसँग कुनैपनि स्वार्थ र कुनैपनि बाहनामा सम्झौता गर्न नहुने तर्फ ध्यानाकर्षण गराउदै उनले अनेक गठबन्धनको नाममा भईरहेका सम्झौता त्रुटिपुर्ण भएको तर्क गरे ।
काँग्रेस ठुलो पार्टी भएकै कारण मुलुकले संविधान पाएको र संवृद्धिको बाटो खुलेकाले काँग्रेस फेरि पनि सवैभन्दा ठुलो पार्टी हुने उनले दावी गरे ।
कांग्रेसले पाएको मुख्य जिम्मेबारीहरु सधै जिम्मेबार र इमान्दारितापुर्वक पुरा गरेकाले अव ती उपलब्धीहरुलाई संस्थागत गर्दै समृद्धिको यात्रा कांग्रेसले मात्रै पूरा गराउन सक्ने नेता सिटौलाको जिकिर छ ।












