२८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आजदेखि आफ्नो चुनावी क्षेत्रलगायत पश्चिम नेपालको चुनावी प्रचारमा लाग्ने भएका छन् । चुनाव प्रचारकै लागि उनी आज काठमाडौंबाट नेपालगञ्ज जाँदै छन् भने उनी वुधबार धनगढी पुग्नेछन् ।
काँग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणका अनुसार आज मंगलबार प्रधानमन्त्री नेपालगञ्जतर्फ प्रस्थान गर्ने छन् ।
सोही दिन उनले सुरक्षा निकाय र प्रशासनिक निकायका प्रमुखसँग शान्ति सुरक्षा र अन्य विषयमा छलफल गर्नेछन् । प्रधानमन्त्री देउवा कात्तिक २९ गते वुधबार धनगढी पुग्ने कार्यक्रम छ । सोही दिन उनले पार्टीका उम्मेदवार तथा नेता र कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री देउवाले सुदूरपश्चिमाञ्चलका प्रशासक र सुरक्षा निकायका प्रमुखसँग कात्तिक २९ गते नै क्षेत्रको शान्ति, सुव्यवस्था र सुरक्षाका बारेमा पनि छलफल गर्नेछन् । कात्तिक ३० गते विहीबार प्रधानमन्त्री देउवा गृहजिल्ला डडेल्धुरा पुग्नेछन् । त्यहाँ उनले चुनावी सभालाई सम्बोधन गर्नुका साथै केही समय घरदैलो कार्यक्रम समेत गर्ने जनाइएको छ ।
कांग्रेस नेता खाँणका अनुसार प्रधानमन्त्री देउवाले आगामी मंसिर १ गते दार्चुला र बैतडीका चुनावी सभालाई सम्बोधन गर्नेछन् भने मंसिर २ गते बझाङ र बाजुराका आमसभालाई सम्बोधन गर्ने र ती जिल्लाका शान्ति सुरक्षाको अवस्थाका बारेमा प्रशासक र सुरक्षाकर्मीसँग जानकारी लिने कार्यक्रम छ ।
प्रधानमन्त्री देउवाले त्यसपछि रुकुम, रोल्पा, जाजरकोट, जुम्ला, हुम्ला र मुगुका चुनावी सभालाई सम्बोधन गर्न जाने कार्यक्रम रहे पनि त्यसको मिति भने तय हुन सकेको छैन ।












