२६ कात्तिक झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिर ९ गते पार्टी एकीकरणको कुनै कार्यक्रम नरहेको स्पष्ट पारेका छन् ।
मंसिर ९ गते पार्टी एकीकरण गर्ने समाचार सामाजिक सञ्जालमा आएपछि झापाको गौरादहमा आइतबार बिहान भएको चुनावी कार्यक्रममा ओलीले त्यस्तो कार्यक्रम नभएको बताए । ‘विहानै साथीहरुले एकीकरणको कुरा सुनाउनुभयो, मैले प्रचण्डजीलाई फोन गरेर सोधें, उहाँलाई पनि थाहा छैन,’ ओलीको भनाइ थियो, ‘१० गतेदेखि पार्टी एकता हुँदैन भनेर हल्ला चलाउनेहरुले कथा बुनेका हुन्, उनीहरुले नै कथा वाचन गरिरहेका छन् ।’
स्मरणीय छ दुई दलबीच मंसिर ९ गते एकीकरण हुने समाचार आइतबार प्रकाशित राजधानी दैनिकले छापेको थियो र सोही समाचार अनलाइन संचारमाध्यम तथा सामाजिक सञ्जालमा भाइरल बनेको थियो । राजधानी दैनिकका प्रकाशक महेन्द्र शेरचन दोस्रो संविधानसभामा एमालेबाट समानुपातिक सभासद् थिए भने एमालेको भ्रातृ संगठन प्रेस चौतारीका अध्यक्ष गणेश वस्नेत समेत राजधानी दैनिकको समाचार शाखामा संयोजकको भूमिकामा कार्यरत छन् । वाहियात हल्ला आफ्नै ओलीका आफ्नै मान्छेले चलाए या विरोधीले चलाएका हुन् रहस्यमय बनेको छ । हेर्नुहोस् राजधानी दैनिकले आइतबार आमुक पृष्ठमै लेखेको यससम्बन्धि समाचार :
उनले दुई वामपन्थी दल एमाले र माओवादी केन्द्रबीच एकीकरण हुने तर त्यसको मिति निश्चित नभएको बताए ।
ओलीले नेपालको अर्थतन्त्र नबुझेका अर्थशास्त्रीहरुले वामपन्थीले बनाउने सरकारविरुद्ध हल्ला चलाएर नेप्से घटाएको आरोप लगाए ।













