२६ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कात्तिक २७ देखि ३० गतेसम्म संयुक्त अरब इमिरेट्स युएईको औपचारिक भ्रमण गर्ने भएकी छन्। युएईको आबुधावीका युवराज तथा युएईको सशस्त्र बलका नायब सर्वोच्च कमान्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको मैत्रीपूर्ण निमन्त्रणामा भण्डारी सोमबार त्यसतर्फ जान लागेकी हुन् ।
भ्रमणका क्रममा यही कात्तिक २८ गते राष्ट्रपति भण्डारी र युवराज नेह्यानबीच औपचारिक वार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति र युवराजबीचका बैठक एवं छलफल आपसी हित र द्विपक्षीय सहयोगका विषयमा केन्द्रित हुनेछन् ।
नेपाल र युएईबीच कूटनीतिक सम्बन्ध स्थापनाको ४० औँ वार्षिकोत्सवको सन्दर्भमा राष्ट्रपतिबाट यो भ्रमण हुन लागेको हो ।
राष्ट्रपति भण्डारीले अबुधावीस्थित नेपाली दूतावासद्वारा आयोजित एक कार्यक्रममा नेपाली समुदायसँग अन्तरक्रिया गर्नेछिन् ।
राष्ट्रपति भण्डारीका साथ उनकी छोरी निशाकुसुम भण्डारी, आपूर्ति मन्त्री जयन्त चन्द, राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ मदनकुमार भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेल र राष्ट्रपतिको कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकारीका साथै सञ्चार माध्यमका प्रतिनिधि रहनेछन् ।
राष्ट्रपति भण्डारी कात्तिक ३० गते स्वदेश फर्कने कार्यक्रम छ ।












