२५ कात्तिक, काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले आर्थिक वर्ष २०७३/७४ मा ९३ करोड ७१ लाख रुपैयाँ मुनाफा कमाएको छ । १ अर्ब २४ करोड ४ लाख ८६ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीले संचालन खर्च कटाएर यो मुनाफा कमाएको हो । यो मुनाफा अघिल्लो आर्थिक वर्षभन्दा ०.०४ प्रतिशतले कम हो ।
सहयाक कम्पनीले निर्माण गरिरहेका आयोजनामा ७५ करोड ७० लाख रुपैयाँबराबरको लगानी गरेकाले तथा नगद लाभांश र बोनस सेयरको रकम बढेकाले मुनाफा कम देखिएको कम्पनीले जनाएको छ । कम्पनीले नेपाल विद्युत प्राधिकरणलाई विद्युत विक्री गरेर १ अर्ब १९ करोड ६८ लाख ९० हजार रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २.९ प्रतिशतले बढी हो ।
१५ करोड ५५ लाख १३ हजार युनिट उत्पादन गर्ने लक्ष्य राखिएकामा १५ करोड ५५ लाख १८ हजार युनिट विद्युत उत्पादन भएको छ ।
नदीमा पानीको वहाव उच्च रहेकाले गत आवमा उत्पादन बढ्दा आम्दानी पनि बढेको कम्पनीले जनाएको छ । निर्माणाधीन र भर्खरै अनुमतिपत्र जारी भएका आयोजनामा लगानी गर्नुपर्दा बैंकमा रहेको रकम घट्दा व्याजदरबाट हुने आम्दानी भने घटेको छ ।
यस्तै, कम्पनीले सम्पूर्ण सेयरधनीलाई १० प्रतिशत नगद लाभांश तथा १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । कम्पनीको शुक्रबार सम्पन्न साधारणसभाले लाभांस र बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो । प्रस्ताव पारित भएसंगै सम्पूर्ण सेयरधनीले आर्थिक वर्ष २०७३/७४ को सञ्चित मुनाफाबाट चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने ३४ करोड ४७ लाख ९२ हजार ४ सय ४८ रुपैयाँ बराबरको नगद लाभांश तथा १५ प्रतिशतले हुन आउने ५१ करोड ७१ लाख ८८ हजार ६ सय ७२ रुपैयाँ मूल्यको बोनस सेयर प्राप्त गर्नेछन् ।
कम्पनीले आर्थिक वर्ष २०६०/६१ देखि सेयरधनीलाई लाभांश दिंदै आएको छ ।
कम्पनीले रसुवामा सञ्चालित २२.१ मेगावाटको चिलिमे जलविद्युत केन्द्र निर्माण गरेको छ । २ सय ७० मेगावाट बारबरका ४ आयोजना निर्माणधीन छन् । ४ सय २० मेगावाटको बूढीगण्डकी प्रोक र १ सय ६५ मेगावाटको सेतीनदी आयोजनाको अध्ययन अनुमति लिएको छ । अन्य दुई आयोजनाको अध्ययन अनुमतिका लागि विद्युत विकास विभागमा आवेदन दिएको छ ।














