२४ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व राष्ट्रपति डा रामवरण यादवलाई ‘जनआन्दोलन स्वर्ण पदक, २०७४’ बाट विभूषित गरेकी छिन् । राजधानीको शान्तिवाटिकामा शुक्रबार आयोजित कार्यक्रममा भण्डारीले पदकसहित फूलमाला लगाएर यादवलाई सम्मान गरेकी हुन् ।
कांग्रेस नेता गणेशमान सिंहको १०३औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा यादवलाई अभिनन्दनसहित सो पदकबाट विभूषित गरिएको हो ।
समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले स्थानीय तहको निर्वाचनमा उत्साह देखिए झैँ आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई पनि एउटा ऐतिहासिक उत्सवकै रूपमा लिएर सहभागी हुन आमजनतासँग अपिल गरिन्।
संविधानले निर्दिष्ट गरेका विभिन्न तहका निर्वाचन समयमै सम्पन्न गर्न राजनीतिक दलहरूबाट देखाइएको कटिबद्धताको सराहना गर्दै स्वस्थ प्रतिस्पर्धाका लागि दलहरुमा देखिएको अग्रसरताप्रति खुशी व्यक्त गरिन् । राष्ट्रपति भण्डारीले सबै निर्वाचनले राजनीतिक स्थायित्व र परिपक्वता कायम गरी हालसम्म प्राप्त उपलब्धिलाई सुदृढ गर्ने र मुलुकलाई सामाजिक र आर्थिक रूपान्तरणको दिशामा अघि बढ्न मार्ग प्रशस्त गर्ने विश्वास पनि व्यक्त गरिन् ।
पूर्वराष्ट्रपति डा यादवले सबैले स्वीकार गरेको नेपालको संघीय लोकतान्त्रिक संविधानको पूर्ण कार्यान्वयनसँगै मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।













