२४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले २०४६ सालमा बहुदल आएपछि कम्युनिस्टलाई बदनाम गर्न कांग्रेसले अपनाएको बाटो प्रयोग गर्दै एमाले र माओवादीले जित लोकतन्त्र समाप्त हुने बताएका छन् । २०४६ सालमा वाममोर्चासँगै आन्दोलन गरे पनि कांग्रेसले २०४८ सालको निर्वाचमा कम्युनिस्टलाई वदनाम गराउन ६० वर्ष पुगेका नागरिकलाई कम्युनिस्ट शासकले गोली हानेर मार्छन् भनी प्रचार गरेको थियो । तर, त्यसको गतिलो जवाफ २०५२ सालमा बनेको मनमोहन अधिकारी नेतृत्वको कम्युनिस्ट सरकारले वृद्धहरुलाई भत्ताको व्यवस्था गरेर दिएको दिएको थियो । यद्यपि यतिवेला वामगठबन्धनबाट अत्तालिएका कांग्रेस सभापति देउवाले त्यही बाटो अपनाउँदै एमाले र माओवादीको गठबन्धनले जिते लोकतन्त्र समाप्त हुने र निर्धक्क बोल्न र लेख्न पाउने युग समाप्त हुने अतिरञ्जित अभिव्यक्ति दिएका छन् ।
२०४६ को जनआन्दोलनका कमाण्डर गणेशमान सिंहको १०२ औँ जन्मजयन्तीका अवसरमा गणेशमान सिंह अध्ययन प्रतिष्ठानले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले भने यस्तो अभिव्यक्ति दिएका हुन् । सो कार्यक्रममा बोल्दै देउवाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रजातन्त्रवादी र साम्यवादीबीचको लडाइँ भएको बताए । उनले भने “कम्युनिष्ट शासन आएमा खुलेर बोल्न, निर्धक्क लेख्न पाइन्नँ, वहुदलीय प्रतिष्पर्धा त कता हो कता, मानवअधिकार भन्ने केही रहन्न ” उनले थपे “प्रजातन्त्रलाई संगठित रुपमा सिध्याई साम्यवाद स्थापना गर्न एमाले र माओवादी एक भएर लागेका छन्, यसका विरुद्ध जनताले निर्वाचनमा प्रजातन्त्रका पक्षमा मत दिई फैसला दिनुपर्छ ।”
नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले स्थानीय निकायको निर्वाचनमा जनताले कम्युनिष्ट दललाई पहिलो स्थानमा पु¥याए पनि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा काँग्रेसलाई पहिलो स्थान दिन जनतासित आग्रह गरे ।
प्रधानमन्त्री देउवाले आफ्नो पार्टी जहानियाँ राणा शासन, पञ्चायत तथा निरंकुश तत्कालीन राजा ज्ञानेन्द्रका विरुद्धमा अग्रमोर्चामा लडेको र अब पनि प्रजातन्त्रविरुद्ध देखा पर्नेका विरुद्ध लड्ने दावी गरे ।
प्रधानमन्त्री देउवाले निर्वाचनमा आफ्नो पार्टीले पहिलो स्थान प्राप्त गरेमा प्रजातन्त्रको सुदृढीकरण, संविधान कार्यान्वयन र आर्थिक समृद्धिको यात्रामा देश अगाडि बढ्ने आश्वासन दिए । प्रजातन्त्र स्थापना गर्न गणेशमान सिंहले देखाएको त्याग, समर्पण र निष्ठालाई सबैले अनुसरण गर्नुपर्ने देउवाको भनाइ थियो ।
गणेशमान सिंह प्रतिष्ठानका अध्यक्ष एवं पूर्वउद्योगमन्त्री नवीन्द्रराज जोशीले नेपाली राजनीतिमा गणेशमान लौह पुरुषका रुपमा रहिरहने बताएका थिए । आफ्नो सक्रिय राजनीतिक जीवनको ६ दशकमध्ये गणेशमानले १५ वर्ष कारागार र १५ वर्ष निर्वासनमा बिताउनुपरेको थियो । विसं १९९७ मा नेता सिंह राणाशासनका विरुद्ध सक्रिय राजनीतिमा लागेका थिए ।











