२३ कात्तिक, बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको समस्या चाँडै समाधान गर्ने उपायका लागि चीनलाई आग्रह गरेका छन् ।
हाल चीनको भ्रमणमा बेइजिङमा रहनुभएका उनले चिनियाँ राष्ट्रपति सि चिनफिङलाई सो अग्रह गरेका हुन् ।
उनले भने – चीनले उत्तर कोरियाको समस्या समाधानका लागि जतिसक्दो चाँडै अग्रसरता लिओस् र कडा मेहनेतका साथ काम गरोस् भन्ने अमेरिका चाहन्छ ।
चिको राजधानी बेइजिङमा चिनका व्यापारिक प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै उनले चीनलाई सो आग्रह गरे । उनी बुधबार चीन पुगेका हुन् ।
राष्ट्रपति ट्रम्पले सो सम्बोधनका क्रममा भने– मैले तपाईंहरुका महान राष्ट्रपतिलाई यो भनिरहेको छु कि जतिसक्दो चाँडै कोरिया सङ्कट समाधानको पहल होस् समय धेरै अघि बढिसकेको छ ।
आफ्नो यस एसिया भ्रमणका क्रममा प्राय उत्तर कोरियाका विरुद्धमा उनी निकै आक्रामक बन्दै आएका छन् । राष्ट्रपति ट्रम्पले बुधबार मात्र पनि दक्षिण कोरियाली संसदलाई सम्बोधन गर्दै उत्तर कोरियालाई क्रुर एवम् तानाशाहको संज्ञा दिएका थिए ।
उनले उत्तर कोरियालाई एक्लो बनाउन विश्वका सबै देशलाई आग्रह पनि गरे । उनले चीनलाई पनि उत्तर कोरियाले विश्व मानव सभ्यता र शान्तिमाथि नै धावा बोलिरहेको अवस्थामा उसलाई साथ नदिन आग्रह गरेका थिए
सो आग्रह राष्ट्रपति ट्रम्पले चिनियाँ राष्ट्रपति चिनफिङसँगको भेटका क्रममा पनि दोहोर्याएका थिए । उनले चीनका व्यापारिक प्रतिनिधिमण्डललगायतका विभिन्न मञ्चमा सम्बोधन गर्ने क्रममा पनि सो धारणा व्यक्त गरेका छन् ।
राष्ट्रपति ट्रम्पले मङ्गलबार मात्र पनि उत्तर कोरियालाई आफ्ना सबै परमाणु हतियारहरु परित्याग गरेर वार्ताको टेबलमा आउन र सबै विषयमा छलफल गर्न आह्वान गरेका थिए ।
राष्ट्रपति ट्रम्पले दक्षिण कोरियामा गत मङ्गलबार गरेको सम्बोधनमा अमेरिकाले प्योङयाङका विरुद्धमा सेना परिचालन गर्ने अवस्था नआओस भनेर पनि सोचिरहेको स्पष्ट पारे।
ट्रम्पलाई चिनियाँ राष्ट्रपतिको आश्वासन
यसैबीच चिनियाँ राष्ट्रपति सि चिनफिङले कोरियाली प्रायद्वीप र अफगानिस्तानको मुद्दामा चिनले अमेरिकासँग समन्वय गर्ने बताएका छन् ।
विहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटपछि चिनियाँ राष्ट्रपति चिनफिङले भने– ती विषयमा राष्ट्रपति ट्रम्पसँग कुराकानी भएको छ र हामी त्यसबारे एकसाथ काम गर्न तयार छौँ ।
विहीबार उनीहरुबीचको भेटवार्ताका क्रममा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको आणविक कार्यक्रम विश्वकै लागि समस्या बनेकोले समाधानका लागि पहल गर्न चीनलाई आग्रह गरेको बताइएको थियो ।
उत्तर कोरियाका विषयमा विश्वका दुई प्रमुख शक्तिराष्ट्र अमेरिका र चीनले गरेको यस वार्तालाई विश्वमा निकै चासोका साथ हेरिएको छ ।












