२३ कात्तिक, काठमाडौं । पृथ्वीनारायण शाहले विशाल नेपालको एकीकरण गोरखाबाट गरेजस्तै कम्युनिस्ट गठबन्धनले कम्युनिस्ट शासन व्यवस्थाको थालनीको सन्देश पनि गोरखाबाटै दिने भएका छन् । एमाले र माओवादी केन्द्रले आगामी निर्वाचनपछि कम्युनिस्ट बहुमतको सरकार बनाउने सन्देशको संयुक्त सुरुवात गोरखाबाट गर्ने भएका हुन् । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले यही कात्तिक २९ गते गोरखामा संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै देशलाई कम्युनिस्टमय बनाउन आह्वान गर्ने भएका छन् । त्यस दिन गोरखा चार स्थानमा चुनावी सभा आयोजना हुने कार्यक्रम रहेको छ । शीर्ष नेताले सम्बोधन गर्ने पहिलो संयुक्त चुनावी गोरखामा गर्नुको उद्देश्य कांग्रेस र नयाँ शक्तिका संयुक्त उम्मेदवार डा बाबुराम भट्टराईलाई हाँक दिनु रहेको एमाले र माओवादीका नेताहरुले बताएका छन् ।
भट्टराई गोरखाबाट कांग्रेसको समर्थनमा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका छन् । सोही स्थानमा वाम गठबन्धनबाट नारायणकाजी श्रेष्ठ प्रतिश्पर्धामा छन् ।
गोरखाबाट सुरु भएको एमाले माओवादीका शीर्ष नेताको चुनावी सम्बोधनको क्रम देशभर हुने छ । कात्तिक ३० गते स्याङ्जा र बाग्लुङमा संयुक्त चुनावी सभा हुनेछ । मंसिर २ गते झापाको दमकमा र ३ गते काँकडभिट्टामा सभा आयोजना गरिने छ ।
झापा क्षेत्र नम्बर ५ मा एमाले अध्यक्ष ओली स्वयम् उम्मेदवार छन् । झापाको क्षेत्र नम्बर १ मा माओवादी नेता राम कार्कीलाई सघाएको एमालेले अरु सबै क्षेत्र आफूले लिएको छ ।
यसैगरी ३ गते नै मोरङको विराटचोकमा, ५ गते रुपन्देहीको बुटवलमा र दाङमा, ७ गते सुर्खेत र दैलेखमा, ८ गते कैलाली र कञ्चनपुरमा तथा ९ गते पोखरामा संयुक्त चुनावी सभा गर्ने कार्यक्रम वाम गठबन्धनको रहेको छ ।












