२२ कात्तिक, काठमाडौं । चुनावी दौडमा रहेका निवर्तमान सांसद एवं डोटीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रेमबहादुर आलेमगरले उपचार गराइरहेका एक विपन्न विरामीलाई सहयोग गरेका छन् ।
यद्यपि, चुनावको बेला उनले आर्थिक सहयोगका नाममा पैंसा बाड्दै हिंडेको आरोप लागेको छ । चुनावी अभियानका क्रममा उनले डोटीको सानागाउँ निवासी एच आईभी संक्रमित चनरी देवी भण्डारीका ७ वर्षीय छोरा कर्ण भण्डारीको उपचारको लागि व्यक्तिगत ११ हजार आर्थिक सहयोग गरेका हुन् ।
जिल्ला अस्पताले चेकजाँचका क्रममा पिसाव नलीमा खराबी देखिएको र ३ लाख खर्च लाग्ने भनेपछि भण्डारीको उपचारका लागि स्थानीयले नै आर्थिक सहायता संकलन गरेका थिए । स्थानीयले संकलन गरेको रकममै आफुले ११ हजार दिएको निवर्तमान सांसद आलेमगरले हाम्राकुरालाई जानकारी दिए ।
उनले भने, ‘मैले मत प्रभावित पार्न सहयोग गर्ने भन्ने विषय चुनाव हार्ने मानसिकताका व्यक्तिहरुले अनर्गल प्रचार गर्न खोजेका हुन् । ३० हजार ३ सय स्थानीयले नै संकलन गरेका थिए । त्यसमा मैले ११ हजार दिएँ । त के विग्रियो रु त्यसो त म अहिले मात्रै होइन हिजो सांसद हुँदा र नहुँदाबा बखत पनि निरन्तर विपन्नहरुलाई सहयोग गर्दै आएको हुँ । काठमाडौँ मै हुँदा पनि मैले उपचारका लागि धेरैलाई सहयोग गरे । उपचारका क्रममा पैंँसा सकिएपछि घर फर्किने पैंसा नभएका विरामीलाई मैले एम्बुलेन्स नै बुक गरेर घर पठाएको थिए ।’
चुनावको बेला यसरी सहयोग बाँड्दा के सन्देश जान्छ, आचारसंहिताको पनि लाग्ला रु जवाफमा उनले भने, ‘यो नागरिकले गरेको सहयोग हो । स्थानीयले संकलन गरेको रकम हस्तान्त्रण गरिएको हो । पहिले त म पनि एउटा नागरिक हुँ । मैले यसमा नागरिकको कर्तव्य निभाएको हुँ । मैले उम्मेदवारका हैसियतले सहयोग गरेको होइन ।’
मैले सहयोग गरेको भण्डारी भाइको बुबा छैनन्, आमा पनि रोगी हुनुहुँदो रहेछ, उनले भने, ‘अतिनै विपन्नहरुलाई उपचारका लागि सहयोग गर्दा अनावश्यक प्रचार गरिनु हुँदैन । उपचार नपाई कसैले ज्यान गुमाइसकेपछि समवेदना दिनुको के अर्थ रु कतिपय अवस्थामा मानवीय धर्म पनि निभाउनु पर्ने हुन्छ ।’ यस्तो सहयोग आज मात्र होइन निरन्तर हुँदै आएको हो ।
वाम गठबन्धनकोतर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचनको दौडमा रहेका आलेमगरको प्रतिस्पर्धी काँग्रेसबाट वर्तमान यातायातमन्त्री विरबहादुर बलायर छन् ।












