२१ कात्तिक, काठमाडौं । वाम गठबन्धन र कांग्रेसले आफू कमजोर रहेको क्षेत्रमा मधेसकेन्दित दलका उम्मेदवारलाई सहयोग गरेर बलिया प्रतिश्पर्धीलाई हराउने योजना बनाएका छन् । देशभर मुख्य प्रतिश्पर्धी बनेका वामगठबन्धन र कांग्रेसले एकअर्काका उम्मेदवारलाई पराजित गरेर फाइदा लिने दाऊमा दुवै पक्षले प्रदेश नम्बर दुईमा मधेसकेन्द्रित दलका उम्मेदवारलाई सघाउने रणनीति लिएका हुन् । वामगठबन्धनका कारण डराएको कांग्रेस भने आफूले जित्न नसके पनि गठबन्धनलाई पराजित गर्नका लागि मधेसी दललाई एकतर्फी सघाउने योजनामा लागेको रहस्य खुलेको छ । मधेसवादी दलसँग बारम्बार वार्ता गरेर पनि सहकार्य गर्न नसकेको नेपाली कांग्रेसले मनोनयन दर्तापछि एकतर्फी मधेसवादीलाई सघाउन खोजेको छ। दुई बलिया शक्तिको आपसी रिसरागको फाइदा उठाउँदै २ नम्बर प्रदेशमा दुई तिहाइ स्थानमा विजय हासिल गर्ने दाऊमा मधेसकेन्दित दलहरु लागेका छन् ।
कांग्रेसले राष्ट्रिय जनता पार्टी राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई महोत्तरी ३ मा सघाउने निर्णय गरेको छ भने सप्तरी दुईमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने जनाएको छ। त्यस्तै, अप्रत्यक्षरूपमा राजपाका अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीलाई महोत्तरी दुईमा सघाइरहेको छ ।
यता वाम गठबन्धनले पनि शीर्ष मधेसी नेताहरू उठेको स्थानमा स्वतन्त्रको नाममा छोडेको छ भने कतिपय स्थानमा कमजोर उम्मेदवार खडा गरेको छ। दुई नम्बर प्रदेशको भावी राजधानी जनकपुरमा पूर्वसांसद सञ्जय साह ‘टक्ला’की श्रीमती रंगिलादेवी साहका लागि सिट छोडे पनि साहले उम्मेदवारी नदिएपछि राजपाका नेता राजेन्द्र महतोलाई सघाउने देखिन्छ।
त्यस्तै, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको क्षेत्रमा पनि वाम गठबन्धनको कमजोर उम्मेदवार दिएको छ भने महन्थ ठाकुरको क्षेत्रमा पनि वाम गठबन्धनले कमजोर उम्मेदवार खडा गरेको छ। राजपाका नेता अनिलकुमार झाका लागि एमाले नेता माधव नेपालले रौतहट छोडेर काठमाडौं रोजेका छन्।
भावनात्मक रूपमा मधेसवादी दलका कार्यकर्तालाई तान्न र मधेसवादी निकट देखिन कांग्रेसले एकतर्फी रूपमा सहयोग गर्न खोजेको राजपाका सहमहासचिव सुरिता साहले नेपाल समाचारपत्रलाई बताउनुभयो। साहले आफूहरू कांग्रेससँग कुनै सहयोग माग्न नगएको बताउँदै कांग्रेसले आफ्नो फाइदाका लागि राजपा नेताहरूलाई सहयोग गर्न खोजको बताए।
कांग्रेस नेता विमलेन्द्र निधिले लोकतान्त्रिक शक्तिहरू मिलेर जानुको विकल्प नरहेकाले मधेसवादी दललाई सघाएको बताए। निधिले कांग्रेसले मधेसकेन्द्रित दलसँग गठबन्धन गर्ने प्रयास असफल भए पनि मधेसी दलका शीर्ष नेतालाई सघाउने बताए।
वाम गठबन्धनका नेता मातृकाप्रसाद यादवले भने – ‘हामी मधेस विरोधी होइनौं। मधेसकेन्द्रित दललाई पनि हाम्रो साथ चाहिन्छ र हामीलाई पनि मधेसवादीको साथ चाहिन्छ। त्यसकारण हामीले औपचारिक अनौपचारिक रूपमा उनीहरुलाई सघाउँदै छौं।’
यादवले मधेसकेन्द्रित दलको ठूलो विरोधी कांग्रेस भएकाले वाम गठबन्धनसँग सहकार्य भए दुवै पक्षलाई फाइदा हुने दावी गरे।
दुई नम्बर प्रदेशको स्थानीय निकायको निर्वाचनमा मधेसकेन्द्रत दल राजपा र फोरम नेपालले बहुमत हासिल गरेका थिए। प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा राजपा र फोरम नेपालबीच तालमेल भएको छ। यसकारण दुई नम्बर प्रदेशमा सम्मानजनक मत आउने दावी फोरम नेपालका महासचिव रामसहायप्रसाद यादवको छ।
यादवले राजपा र फोरम चुनावी तालमेल गरेकाले दुई नम्बर प्रदेशमा दुई तिहाइ ल्याउने दाबी गरे। उनले कांग्रेस र वाम गठबन्धनले आफू अनुकूल मधेसी दललाई सहयोग गरेको प्रचार गर्न खोजेको आरोप लगाए।














