२० कात्तिक, काठमाडौं । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अनुगमन गर्न सचिव र सहसचिवहरूको टोली सोमबार खटिएको छ। हरेक जिल्लामा आचार संहिता पालना भए ⁄ नभएको सूक्ष्म अनुगमन गर्न सो टोली खटिएको हो। अनुगमन टोलीमा एक जना उप–महालेखापरीक्षक र सहसचिवहरू गरी ३७ जना रहेका छन्।
अनुगमन टोलीको अभिमुखीकरणमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचन आचार संहिता उल्लंघन गर्ने राजनीतिक दल तथा उम्मेदवारलाई कडाइका साथ कारवाही गर्न पनि निर्देशन दिएका छन्।
यादवले विकट भौगोलिक अवस्था, चिसो मौसम तथा सञ्चार सम्पर्क हुन नसक्ने जस्ता व्यवधानहरूको उचित व्यवस्थापन गर्न सरोकारवाला सबै पक्षसँग समन्वय एवं सहकार्य गरेर काम गर्न पनि निर्देशन समेत दिएका छन्। निर्वाचन सञ्चालनका क्रममा तथा निर्वाचन आचार संहिता पालनाका क्रममा आउन सक्ने व्यवधानलाई पूर्वानुमान गरी रोकथामका उपायहरू अवलम्बन गर्नसमेत उनले निर्देशन दिएका छन्।
आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्यालले अनुगमनका क्रममा मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीलगायतसँग आवश्यक समन्वयको भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।












