शेरबहादुर देउवा : पाँचपटक जित
०४८, ०५१ र ०५६ मा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भए । ०६४ को पहिलो संविधानसभामा डडेल्धुरा र कञ्चनपुर ४ बाट जिते । ०७० को संविधानसभा निर्वाचनमा डडेल्धुरा र कैलाली ६ बाट विजयी भए । यसपटक डडेल्धुराबाट उम्मेदवार छन् । ०४८ मा गृहमन्त्री बनेका उनी ०५२, ०५८, ०६१ पछि अहिले चौथोपटक प्रधानमन्त्री भएको अाजको नयाँ पत्रिकामा खबर छ ।
केपी ओली : चार जित, एक हार
०४८, ०५१, ०५६, ०७० मा झापाबाट विजयी । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा पराजित । यसपटक फेरि झापा ५ बाट उम्मेदवार छन् । एमालेको नवाैँ महाधिवेशनबाट अध्यक्ष भए । परराष्ट्रमन्त्री, उपप्रधानमन्त्री हुँदै गत वर्ष प्रधानमन्त्री भए ।
झलनाथ खनाल : छैटौँपटक भिड्दै
०४८, ०५१, ०६४ र ०७० मा इलाम १ बाट विजयी । ०५६ मा कांग्रेसका बेनुप प्रसाईंसँग ७० मतले पराजित । यसपटक फेरि इलाम १ बाट उम्मेदवार छन् । एमालेको आठौँ महाधिवेशनबाट अध्यक्ष भएका खनाल ०६८ मा प्रधानमन्त्री भए ।
रामचन्द्र पौडेल : निरन्तर जित
०४८, ०५१, ०५६, ०६४ र ०७० को निर्वाचनमा तनहुँबाट विजयी । यसपटक तनहुँ १ बाट पुनः उम्मेदवार । उपप्रधानमन्त्री, सभामुख, पटकपटक मन्त्री र पार्टीमा उपसभापतिसम्म भए ।
वामदेव गौतम : दुईपटक पराजित
०४८ र ०५१ मा गौतम बर्दिया १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भए । एमाले फुटाएपछि मालेबाट उम्मेदवार बन्दा ०५६ मा पराजित भए । ०६४ को संविधानसभा निर्वाचनमा पनि पराजित हुनुप¥यो । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा बर्दिया १ र प्युठान १ बाट विजयी । यसपटक बर्दिया १ बाट उम्मेदवार छन् । पटकपटक उपप्रधानमन्त्री भए ।
विजय गच्छदार : हरेकपल्ट जित
०४८, ०५१, ०५६ मा कांग्रेसका तर्फबाट सुनसरी २ बाट सांसद बने । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरमबाट सुनसरी २ र ५ बाट विजयी । ०७० मा फोरम लोकतान्त्रिकबाट सुनसरी २ मा निर्वाचन जिते । धेरै मन्त्री हुने थोरैमध्ये एक हुन् ।
महन्थ ठाकुर : हार जितको अनुभव
०४८, ०५१ र ०५६ मा कांग्रेसको तर्फबाट सर्लाही ५ बाट सांसद । ०६४ र ०७० को संविधानसभा निर्वाचनमा तमलोपाका तर्फबाट सर्लाही ६ का उम्मेदवार बनेका उनी पराजित भए । यसपटक महोत्तरी ३ बाट उम्मेदवार बनेका छन् । कांग्रेसमा छँदा पटकपटक मन्त्री भए । तराई–मधेसका ६ पार्टी एक भएपछि उनी राजपा अध्यक्षमण्डलका अध्यक्ष छन् ।
कृष्ण सिटौला : तीन जित, दुई हार
०४८ मा झापाबाट उम्मेदवार बने, एमालेका द्रोणाचार्य क्षेत्रीसँग पराजित भए । कार्यकाल नसकिँदै क्षेत्रीको निधनपछि ०५० मा भएको उपनिर्वाचनमा विजयी भए । ०५१ को निर्वाचनमा पराजित बने । ०५६ मा झापा १ बाट निर्वाचित भए । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा पराजित भए पनि ०७० को दोस्रो संविधानसभा निर्वाचनमा विजयी भए । यसपटक झापा ३ मा उम्मेदवार छन् ।
पशुपतिशमशेर राणा : छैटौँ प्रयास
०४८, ०५१ र ०५६ मा सिन्धुपाल्चोक २ बाट निर्वाचित । ०६४ र ०७० मा सोही क्षेत्रबाट पराजित भए । यसपटक फेरि कांग्रेससँगको तालमेलमा वाम गठबन्धनका शेरबहादुर तामाङसँग भिड्दै छन् । राणा अहिले राप्रपा प्रजातान्त्रिकका अध्यक्ष छन् ।
राजेन्द्र महतो जित्दै हार्दै पार्टीमा अध्यक्षदेखि मन्त्रीसम्म
सद्भावना पार्टीबाट ०४८ र ०५१ सर्लाही १ बाट पराजित । ०५६ र ०६४ मा विजयी भए । ०७० को संविधानसभामा पराजित । यसपटक धनुषा ३ मा उम्मेदवार । सद्भावना पार्टीको अध्यक्ष भएका महतो सरकारमा पटकपटक आपूर्तिसहित स्वास्थ्यमन्त्री भएका छन् ।
डा. रामशरण महत : सँधै निर्वाचित, पटकपटक अर्थमन्त्री
०४८, ०५१, ०५६ ०६४, ०७० सालमा नुवकोट २ विजयी । यसपटक १ बाटै पुनः उम्मेदवार । कांग्रेसले बनाएका प्रायः सरकारमा सँधै अर्थमन्त्री, पार्टीमा केन्द्रीय सदस्य र सहमहामन्त्रीसम्म ।
अर्जुनरसिंह केसी : तीन जित, दुई हार
०४८ र ०५१ सालमा नुवाकोट ३ बाट विजयी । ०५६ र ०६४ सालमा ३ बाटै पराजित, ०७० सालमा नुवाकोट १ बाट विजयी । यसपटक नुवाकोट १ बाटै उम्मेदवार । पटकपटक मन्त्री भएका केसी पार्टीमा सहमहामन्त्रीसम्म भए । १३औँ महाधिवेशनमा महमन्त्रीको उम्मेदवार बने पनि केसी डा. शशांक कोइरालासँग पराजित भए ।
बलबहादुर केसी : सँधै उम्मेदवार
०४८, ०५१, ०५६, ०७० सालमा सोलुखुम्बुबाट विजयी । ०६४ सालमा सोलुखुम्बुबाट माओवादीका गोपाल किरातीसँग पराजित । यसपटक पनि सोलुखुम्बुबाटै निर्वाचन लड्दै । पार्टीमा सँधै केन्द्रीय सदस्य हुँदै आएका केसी पटकपटक मन्त्री भएका छन् ।
रमेश रिजाल तीनपटक विजयी, दुईपटक पराजित
०४८, ०५१ र ०६५ सालमा पर्सा ४ बाट विजयी । ०५६ र ०७० सालमा पराजित । यसपटक फेरि पर्सा ४ बाटै उम्मेदवार ।
दीपकुमार उपाध्याय
०४८ र ०५१ सालमा कपिलवस्तु २ बाट निर्वाचित । ०६४ मा कपिलवस्तु १ बाट निर्वाचित । ०५६ र ०७० सालमा कपिलवस्तुबाटै पराजित । यसपटक फेरि कपिलवस्तु १ बाट उम्मेदवार । भारतका लागि राजदूत रहेकै बखत निर्वाचन लड्न राजीनामा ।
भीम रावल सँधै उम्मेदवार
०५१ र ०७० सालमा अछाम १ बाट विजयी । ०६४ सालमा समानुपातिक सांसद । ०४८ र ०५६ मा अछाम १ बाट पराजित । यसपटक अछाम १ बाट उम्मेदवार । पार्टी उपाध्यक्ष ।












