प्रधानमन्त्री सुशील कोइरालाले विपक्षी दलहरु सहमतिमा आएमा संविधान निर्माणका लागि अघि बढेको प्रकृया विस्थापित हुने बताउनुभएको छ । सरकार गठन भएको एक वर्ष पुरा भएको अवसरमा दिएको सन्देशमा प्रधानमन्त्री कोइरालाले सहमतिमा संविधान निर्माण गर्ने हाम्रो प्रयास र समझदारीले मूर्तरुप लिएको अवस्थामा अरु प्रक्रियाको सान्दर्भिकता स्वतः हराएर जाने उल्लेख गर्नुभएको छ । एक वर्षे कार्यकाल पूरा भएको दुई हप्तापछि शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर सरकारले आफूले गरेका कामको विवरण सार्वजनिक समेत गरेको छ ।
सरकारले आफूले गरेका मुख्य कामलाई १ सय ४८ वटा बुँदामा समावेश गरेको छ ।
सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता नागरिक छानविन आयोगको गठन, भारतसँग भएको विद्युत व्यापार सम्झौता, ९ सय मेगावाट क्षमताका माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत आयोजनाको आयोजना विकास सम्झौता र एकीकृत सुरक्षा योजनाको तर्जुमालाई सरकारले आफ्नो मुख्य काम भनेको छ । एक बर्षे बिबरण सार्वजनिक गर्दे सूचना तथा संचारमन्त्री डाक्टर मिनेन्द्र रिजालले १८ औं सार्क शिखर सम्मेलनको आयोजना, स्वास्थ्य चौकीहरुबाट निःशुल्क वितरण गरिने औषधीको संख्या ७० पुर्याउने निर्णय, पारस्परिक कानूनी सहायता सम्बन्धी ऐन, संगठित अपराध सम्बन्धी ऐन र सुपुर्दगी ऐनको निर्माण पनि पछिल्लो एक वर्षको प्रमुख उपलब्धि भएको उल्लेख गर्नुभयो । कोइराला नेतृत्वको सरकार बनेपछि मुलुकको आर्थिक वृद्धिदर धेरै वर्षपछि पाँच प्रतिशत नाघेको र मूल्यवृद्धिमा विगतको तुलनामा तीन प्रतिशत विन्दूले कमी आएको दाबी गरिएको छ ।
वर्तमान सरकारका पालामा निजी लगानीमा उत्साह थपिएको, बाह्य सहायता बढेको र उर्जा विकासको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको दाबी गरिएको छ । सरकारले काठमाडौं उपत्यका प्रवेश गर्ने नाकाहरु नागढुंगा, फर्पिङ, नाङ्लेभारे लगायतका स्थानमा गरिएको सीसीटिभी जडान, मानवअधिकार आयोगको पूर्णता लगाएतको निर्णयलाई पनि आफ्नो मुख्य काम भनेको छ । सिंहदरबारस्थीत राष्ट्रिय योजना आयोगको हर्क गुरुङ हलमा आयोजित कार्यक्रममा मन्त्रीहरुको उपस्थितिमा सरकारका उपलब्धि सार्वजनिक गरिएको हो ।











