अभय राई
११ भदौ, विराटनगर । मोरङको लक्ष्मीमार्गमा प्रथम पूर्वाञ्चलस्तरीय लक्ष्मीमार्ग गोल्डकप फुटबल हुने भएको छ । लक्ष्मीमार्गस्थित कभर्डहलमा आयोजित पत्रकार सम्मेलनका क्रममा आयोजक डागीहाट युथ क्लबले प्रतियोगिता भदौं २३ गतेबाट सुरु हुने जनाएको छ। सो क्रममा क्लबका अध्यक्ष विक्रम राईले आयोजकसहित धनकुटा, सुनसरी, मोरङ र झापाबाट गरि आठ टोलीको सहभागिता रहने बताए । लक्ष्मीमार्गका स्थानीय तथा बेलायत बसाइ सरेकाहरुको सहयोगमा हुन लागेको उक्त प्रतियोगिताका लागि आयोजकले कुल १० लाख ५७ हजार खर्च हुने अनुमान गरेको छ । अध्यक्ष राईका अनुसार २३ गतेबाट सुरु हुने प्रतियोगितामा विजयी टोलीले १ लाख ११ हजार तथा उपविजेता हुने टोली ५१ ह्जार रुपैया र ट्रफी हात पार्नेछ ।
उक्त रकम एलएक्स युके फण्डले उपलब्ध गराएको जनाइएको छ । आयोजकका अनुसार, गोल्डकपले १ लाख २२ हजार रुपैया मुनाफा लिन सक्ने अनुमान गरेको छ । सो मुनाफा रकमबाट खेलकुद क्षेत्रको विकास तथा बाढी डुबानमा पीडित भएका विद्यार्र्थीको शैक्षिक सामाग्री खरिदमा खर्चिने जनाएको छ । सोही क्रममा अध्यक्ष राईले आयोजक टोली डागीहाट युथ क्लबलाई जर्सी समेत प्रदान गरेका थिए ।














