२२ साउन, काठमाडौं । एकीरकण भएको सात महिनामै पूर्ववञ्चहरुको दल राप्रपा विभाजित भएको छ । राप्रपा रराप्रपा नेपालबीच भएको एकीकरण अन्ततः दिगो हुन नसकी पुरानो राप्रपाबाट आएका नेताहरुले नयाँ दल दर्ताको प्रक्रिया थालेका हुन् । यसको नेतृत्व गरेका छन् पुरानो राप्रपाका अध्यक्ष पशुपतिशमशेरले । पशुपतिशम्शेर राणा सहितका नेताहरुले आइतबार नयाँ पार्टी गठन गरेका हुन् । पार्टी एकीकरणपछि पनि अध्यक्ष कमल थापाको व्यक्तिवादी चरित्र हावी भएका कारण असन्तुष्टहरुले पुनः नयाँ दल गठन गरेको जानकारी राणा पक्षका एक नेताले दिए ।
राणाको नेतृत्वमा नयाँ दल ‘राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक’ दर्ताका लागि निर्वाचन आयोगमा आवेदन दिइएको छ ।
नयाँ दलमा तीन निर्वाचित सांसद सुनिल थापा, दीपक बोहोरा र विक्रम पाण्डे पनि सहभागी छन् । उनीहरुसहित २२ सांसद तथा ७२ केन्द्रीय सदस्य नयाँ पार्टीमा रहेको पशुपतिशमशेर पक्षका एक नेताले जानकारी दिए ।
यसो भएमा कमल थापा नेतृत्वको राप्रपासँग १५ संसद मात्र हुनेछन् ।
२४ सांसद रहेको राप्रपा नेपाल र १३ सांसद रहेको राप्रपाबीच गत मंसिर ६ गते पार्टी एकता घोषणा भएको थियो ।
गत फागुनमा भएको एकता महाधिवेशनले राजासहितको प्रजातन्त्रको लाइन पारित गरेको थियो । फुटको विजारोपण पनि त्यही विन्दुमा भएको थियो । हलो चुनावचिन्ह त्यागेको भन्दै असहमति जनाएका डा प्रकाशचन्द्र लोहनीले भने राप्रपा राष्ट्रवादी गठन गरिसकेका छन् । त्यसबाहेक केशरजंग विष्ट, राप्रपा नेपालका पूर्वप्रवक्ता विष्णु भट्टराई लगायतले राष्ट्रवादी अभियानका नाउँमा नयाँ दलको अभ्यास गरिरहेका छन् ।












