२२ साउन, पोखरा । माओवादी अध्यक्ष प्रचण्डले केही मधेसकेन्द्रित दल र एमालेका कारण देश विखण्डनको खतरामा पुगेको बताएका छन् । मधेसका केही अतिवादी दल र पहाडिया अहंकार बोकेको एमालेका कारण देश खतरामा परेको दावी उनले गरेका हुन् । पोखरा पुगेका प्रचण्डले आइतबार मधेसका केही दलको राष्ट्रवाद र एमालेको पहाडिया राष्ट्रवादले देश नै विखण्डन गर्ने खतरा रहेको भन्दै चिन्ता व्यक्त गरे । दुवै राजनीतिक शक्तिबीच विखण्डनकारी राष्ट्रवाद हावी भएको आरोप समेत उनले लगाए ।
पिछडिएका वर्ग र जातिहरुलाई सम्मान, पहिचान र अधिकार दिनका लागि पहिचानका आधारमा राज्य पुर्नसंरचना हुनुपर्छ भनेर आफ्नो दलले आवाज उठाए पनि त्यसलाई मधेसकेन्द्रित दल र एमालेले मधेसी राष्ट्रवाद र पहाडिया राष्ट्रवादका रुपमा अगाडि बढाउँदा नश्लवादी सोचले स्थान पाएको उनको विश्लवेषण थियो । देश नश्लवादमा फसेमा त्यसले फासीवाद वा विखण्डन निम्त्याउने उनले बताए ।
प्रेस सेन्टर नेपाल प्रदेश ४ ले आइतबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा प्रचण्डले माओवादी केन्द्रले अब प्रत्यक्ष कार्यकारी प्रणाली हुनुपर्छ भनेर आवाज उठाउने बताए । माओवादी प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको पक्षमा भए पनि अन्य दलसँगको सहमतिमा प्रत्यक्ष निर्वाचित प्रधामन्त्रीय प्रणालीमा पनि जान सकिने उनको भनाइ थियो ।
प्रत्यक्ष निर्वाचित कार्यकारी बनाउन शुरुमा जनदवाब सिर्जना गरेर यसलाई बहसमा ल्याउने र नभए आन्दोलनबाट पनि दवाब सिर्जना गर्ने माओवादी माओवादी योजना रहेको उनले खुलाए ।
उनले मंसिर दोश्रो साताभित्रै प्रदेश र प्रतिनिधि सभाको चुनाव हुने समेत ठोकुवा गरे । आगामी चुनावका क्रममा चुनावमा संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरुसँग सहकार्य हुने बताए ।












