२१ साउन, डोटी । डोटी जिल्लाको बोगटान गाउँपालिका–६ गगुडाधारमा गए राति जीप दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । दिपायलबाट यात्रु लिएर बोगटानतर्फ जाँदै गरेको से १ ज ४९१ नम्बरको जीप राति १० बजे दुर्घटना भएको थियो ।
दुर्घटनामा परी बोगटान गाउँपालिका—१, सिमचौरका ३५ वर्षीय विष्णुबहादुर मगर, ५५ वर्षीय भीम घर्ती मगर, ५० वर्षीय बुढो घर्ती मगर र ४५ वर्षीय गोरख थापा मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै ४८ वर्षीय शशीराम पुनमगर, ४५ वर्षीय ललीता देवी पुन, ४० वर्षीय टेकबहादुर पुनमगर, ३० वर्षीय चन्द्रबहादुर घर्ती मगर र शिखर नगरपालिका–१ कपल्केका २८ वर्षीय चालक विष्णु नेगीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, डोटीका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिए ।
घाइतेमध्ये दुईको अवस्था गम्भीर छ । घटनास्थल जिल्ला सदरमुकामबाट करिव पाँच घन्टाको दूरीमा भएकाले घाइतेहरुको उपचारमा समस्या भएको छ ।
शैलेश्वरी यातायात व्यवसायी समितिका अध्यक्ष गणेशबहादुर मलासीले दिएको जानकारी अनुसार, घाइते बोकेर आएको अर्को जीप के आई सिंह गाउँपालिका–१ को ध्याडीखोला भन्ने ठाउँमा पहिरो गएका कारण उतै रोकिएको छ ।
जीप सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो ।












