१९ साउन, वीरगञ्ज । एमाले नेताहरुले संचालन गरेका मेडिकल कलेजलाई लक्षित गर्दै डा. गोविन्द केसी राजधानीमा अनशन बसिरहेकै वेला एमालेले भने मेडिकल कलेज संचालकलाई पार्टी प्रवेश गराएर महानगरपालिकाको मेयरको टिकट दिएको छ । प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जको मेयर पदका लागि एमालेले नेसनल मेडिकल कलेजका अध्यक्ष बसुरुद्धिन अन्सारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । अन्सारीलाई एमाले प्रवेश गराएको भनेर असन्तुष्टि जनाउँदै पर्साका जिल्ला नेताहरुले पार्टी परित्याग गरे पनि अन्त्यमा एमालेले तिनै नवप्रवेशी अन्सारीलाई मेयरको उम्मेदवार बनाएको हो । अचम्मको कुरा त के छ भने अन्सारीलाई उम्मेदवार बनाउने निर्णय समेत पर्सा जिल्ला कमिटीले गर्दै केन्द्रमा सिफारिस गरेको हो ।
वीरगञ्ज महानरपालिकाको उपमेयर पदको उम्मेदवारका लागि सोफिया आचार्यको नाम सिफारिस गरिएको जानकारी
एमाले जिल्ला अध्यक्ष प्रभु हजराले दिएका छन् । दुई उम्मेदवारको चयन सर्वसम्मत रुपमा भएको र कुनै विवाद नरहेको दावी समेत उनले गरेका छन् ।
जिल्लाले पठाएको उम्मेदवारको नाम एमाले स्थायी कमिटीले अनुमोदन गरेपछि उनीहरुको उम्मेदवार पक्का हुने छ ।












