१९ साउन, चितवन । चितवनको भरतपुर महनगरपालिका वडा नं १९ मा पुनः मतदान भोली ९शुक्रबार० हुँदैछ । आवश्यक कर्मचारी खटाएर निर्वाचनको तयारी तीव्र पारिएको छ । पुनःमतदानका लागि मतदान अधिकृतसहित ३६ जना कर्मचारी खटिएको सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिए ।
मतदानस्थलको १०० मिटर वरपर निषेधित क्षेत्र घोषणा गरेर कर्मचारीले आवश्यक तयारी गरिरहेको घिमिरेले जानकारी दिए । आज विहानैदेखि वर्षा भइरहेकोले तयारीका लागि चुनौति थपिएको छ । भोलि मतदानको दिनमा पनि वर्षा हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै मतदानस्थलमा पानी नपस्ने टेन्ट समेत व्यवस्था गरिएको घिमिरेले जानकारी दिए । उनले भने –“रातिदेखि नै पानी परिरहेकोले तयारीमा केही समस्या आएको छ, तथापि तयारीको काम रोकिएको छैन् ।” उनले मतपत्र लगायतका सामाग्रीहरु सुरक्षाका साथ मतदान स्थलहरुमा लगिसकिएको जानकारी दिए ।












