१७ साउन, काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले २ नम्बर प्रदेशबाट भोट पाउने नाउँमा झूटो कुरा बोलेर जनतालाई आफूले नझुक्याउने बताएका छन् । राजपालगायतका मधेसी दलले उठाएका सबै माग पूरा हुने अवस्था पनि नरहेको र आफ्नै दलका मधेसका नेता मात्रिका यादवले भनेजस्तो एकमधेस एक प्रदेशको एजेण्डा पनि सम्भव नरहेको प्रचण्डले स्पष्ट पारेका हुन् । नेपालको राजनीतिक परिस्थिति र दलीय गणीतका कारण चाहेजस्तो हुने अवस्था नरहेको र माओवादी केन्द्रको एजेण्डा एक मधेस एक प्रदेश नरहेको उनले बताए ।
पत्रकारको एक प्रश्नको जवाफ दिँदै प्रचण्डले माओवादी केन्द्रका नेता मातृका यादवले भने जस्तो एक मधेस प्रदेशको एजेन्डा माओवादी केन्द्रको नभएको भनी पुनः स्पष्ट पारे । प्रचण्डले जनकपुरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘माओवादी केन्द्रको लाइन एक मधेस स्वायत प्रदेश कहिल्यै थिएन र हुँदैन पनि। हाम्रो मधेसमा सधैं स्वायत मधेस दुई प्रदेश स्पष्ट धारणा छ।’ माओवादीले जनयुद्धकालमै तयार पारेको संघीयताको ढाँचामा पनि तराईलाई एक प्रदेशमा नराखेको उनले संकेत गरे ।
एक मधेस प्रदेश कुनै पनि हालतमा व्यावहारिक नहुने बताउँदै प्रचण्डले संघीयता, पहिचान र आत्मनिर्णयको अधिकारको लागि मधेसमा २ प्रदेशको खाका नै उत्तम रहेको स्पष्ट पारे। माओवादी अध्यक्ष प्रचण्ड प्रदेश नं २ मा चुनावी प्रचार अभियानमा छन् । शीर्ष नेताहरु प्रदेश नं २ मा केन्द्रित हुने पार्टीको निर्णयअनुसार प्रचण्ड जनकपुर पुगेका हुन् ।












