१६ साउन, काठमाडौं । नेपाल र चीनबीचको सैनिक सम्बन्ध थप सदृढ बनेको नेपाली सेनाले जनाएको छ । चिनियाँ जनमुक्ति सेना स्थापनाको ९० औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा आयोजित समारोहमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपाल–चीनबीचको सैनिक सहयोग सम्बन्ध पछिल्ला दिनमा थप सुदृढ हुँदै गएको बताएका हुन् ।
काठमाडौंस्थित चिनियाँ दूतावासका सैनिक सहचारी वरिष्ठ महासेनानी लिउ स्याओ क्वाङले आयोजना गरेको समारोहलाई क्षत्रीले सम्बोधन गरेका थिए । हालै मात्र दुवै मुलुकका सेनाले गरेको सगरमाथा संयुक्त अभ्यासले सम्बन्धलाई थप प्रगाढ तुल्याएको बताउँदै उनले चिनियाँ रक्षामन्त्रीबाट केही महिनाअघि भएको नेपाल भ्रमणले दुवै देशका सैनिकबीचको सहकार्य र पारस्परिक विश्वासलाई प्रवद्र्धन गरेको उल्लेख गरे।
नेपालका लागि चीनका राजदूत यु होङले राष्ट्रिय प्रतिरक्षा चिनियाँ सेनाको मूल लक्ष्य रहेको बताउँदै संयुक्त राष्ट्रसंघीय शान्ति सेनामार्फत विश्वशान्ति प्रवद्र्धनमा चिनियाँ सेनाले अग्रपंक्तिमा रहेर काम गरिरहेको जानकारी दिए ।
वरिष्ठ महासेनानी लिउले चिनियाँ राष्ट्रपति सि चिनफिङको सबल नेतृत्वमा चिनियाँ सेनाले शान्ति र समृद्धिको चाहनालाई मुखरित गरिरहेको बताए । समारोहमा रक्षामन्त्री भीमसेनदास प्रधान, पूर्वरक्षामन्त्री, पूर्वप्रधानसेनापति, नेपाली सेनाका उच्चपदस्थ अधिकारीलगायत सहभागी सहभागी थिए ।













