१६ साउन, काठमाडौं रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी कुटनीतिक नियोगमा कार्यरत ७ सय ५५ जना अधिकारीहरुलाई देश छाड्न आदेश दिएका छन् । यसलाई अमेरिकाले हालै मस्कोमाथि लगाएको नयाँ प्रतिबन्धविरुद्धको कदमको रुपमा हेरिएको छ । त्यसो त अमेरिकाको राष्ट्रपति निर्वाचनमा रुसले हस्तक्षेप गरेको भन्दै अमेरिकाले केही ३५ जना कुटनीतिज्ञलाई देशनिकाला गरेको थियो ।
अमेरिकी कुटनीतिज्ञलाई देशनिकाला गर्ने निर्णय शुक्रबार गरिएको थियो । राष्ट्रपति पुटिनले भने आइतबार अमेरिकी अधिकारीहरुको संख्या पुष्टि गर्दै आगामी सेप्टेम्बर १ भित्र रुस छाड्नुपर्ने बताएका हुन् ।
योसँगै रसियामा अमेरिकी अधिकारीको संख्या ४ सय ५५ जना पुग्नेछ जुन संख्यामा रसियाका अधिकारीहरु वासिङ्टनमा रहेका छन् ।
आधुनिक इतिहासमा कुनै देशबाट यति धेरै कुटनीतिज्ञहरु एकै पटक देश निकाला गरिएको यो पहिलो पटक हो ।
यसमा अमेरिकी कुटनीतिक नियोगमा कार्यरत रसियाली नागरिक पनि रहेको बताइएको छ ।
यस निर्णयबाट मस्कोमा रहेको राजदूतावास, एकाटेरिनवर्ग, भ्लाडिभोस्टोक र सेन्ट पिटर्सवर्गमा रहेका कन्सुलेटहरु प्रभावित बन्ने छन् ।
अमेरिकाले यो निर्णयको भत्सर्ना गरेको छ । स्टेट डिपार्टमेन्टका एक अधिकारीले भने, ‘हामीले यो निर्णयको प्रभावको बारेमा मूल्यांकन गरिरहेका छौँ । यसबारे हामी छिट्टै प्रतिक्रिया दिनेछौँ ।’
रसियाली टेलिभिजनसँग कुरा गर्दै पुटिनले भने, ‘१ हजारभन्दा बढी व्यक्तिले रुसमा रहेको अमेरिकी राजदूतावास र कन्सुलेटमा काम गरिरहेका थिए, अहिले पनि गरिरहेका छन् । ७ सय ५५ जनाले भने रसियामा आफ्नो काम बन्द गर्नुपर्छ ।
रसियाले अमेरिकी कुटनीतिज्ञहरुले प्रयोग गर्दै आएको छुट्टी मनाउने ठाउँ र एउटा गोदामलाई पनि कब्जामा लिने बताएको छ ।
पुटिनले योभन्दा पनि कठोर निर्णय आउन सक्ने चेतावनी दिँदै भने, ‘तर, आज भने म यसको विपक्षमा छु ।’
उता, अमेरिकाले पनि नयाँ प्रतिबन्ध ल्याउनुअघि बाराक ओबामा सरकारको पालामा त्यहाँ रहेका दुई रसियाली कुटनीतिज्ञको कार्यालयमा कब्जा गर्नुका साथै ३५ कुटनीतिज्ञहरुलाई देश निकाला गरिएको थियो । उनीहरुमाथि अमेरिकी राष्ट्रपति चुनाव प्रभावित गरेको आरोप लगाइएको थियो ।












