१५ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले भरतपुरको वडा नं १९ मा पुनः मतदान गर्न सर्वोच्च अदालतले दिएको आदेशको स्वागत गरेको छ । सर्वोच्चको आदेशले निर्वाचन आयोगको निर्णय संविधानसम्मत रहेको प्रमाणित भएको भन्दै आगामी निर्वाचनमा पार्टी अध्यक्ष प्रचण्डसहित शीर्ष नेताहरुलाई परिचालन गर्ने निर्णय माओवादीले गरेको जानकारी सो पार्टीकी प्रवक्ता पम्फा भुसालले दिएकी छिन् ।
माओवादी प्रवक्ता पम्फा भुसालले नेता नारायणकाजी श्रेष्ठ, मातृका यादव, रामबहादुर थापा, हरिबोल गजुरेल, प्रभू साह, उर्मिला अर्याललगायतका नेता २ नं प्रदेशको निर्वाचनका लागि परिचालित हुने बताइन् ।
प्रवक्ता भुसालका अनुसार सोमबारदेखि नै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा प्रदेश नं २ अन्तर्गत धनुषाको जनकपुरमा पार्टीको बैठक र कार्यकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछ ।
अध्यक्ष प्रचण्डले २ नं प्रदेशका सबै गाउँपालिका र नगरपालिकामा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रदेश नं २ मा १२७ स्थानीय तहको निर्वाचन आगामी असोज २ गते गर्ने कार्यतालिका तोकिएको छ ।
त्यस्तै माओवादी केन्द्रको आइतबारका लागि बोलाइएको केन्द्रीय कार्यालयको बैठक यही साउन १८ गतेसम्मका लागि स्थगित भएको छ ।
यसैबीच माओवादी केन्द्रले भरतपुर महानगरपालिका वडा नं १९ को सम्बन्धमा सर्वोच्च अदालतले गरेको आदेशको स्वागत गरेको छ ।
प्रवक्ता भुसालले गर्दै निर्वाचन आयोगले गरेको निर्णय कानुनअनुसार नै थियो भन्ने विषयलाई सर्वोच्चको आदेशले पुनःपुष्टि गरेको बताइन् । उनले भनिन्, “निर्वाचन आयोग संवैधानिक आयोग भएकाले उसले गरेको निर्णय नै जायज थियो भन्ने पुष्टि भएको छ ।”












