१५ साउन, चितवन । भरतपुर महानगरपालिकाको वडा नं १९ मा पुनः मतदान गर्न सर्वोच्च अदालतले दिएको आदेशपछि सो महानगरका मेयरका दुई प्रतिश्पर्धीले विपरीत प्रतिक्रिया दिएका छन् । एमाले उम्मेदवार देवी ज्ञवालीले फैसलालाई त्रुटिपूर्ण भनेका छन् भने माओवादी उम्मेदवार रेणु दाहालले फैसला स्वागतयोग्य भएको बताएकी छिन् । स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट चितवनको भरतपुर महानगरपालिकाको प्रमुखका उम्मेदवार बनेका देवी ज्ञवालीले सर्वोच्च अदालतको निर्णय त्रुटिपूर्ण र दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिए ।
निर्वाचन आयोगको पुनः मतदान गराउने निर्णयको सर्वोच्चले सदर गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने “अदालतको निर्णय मान्दिन भन्न भएन । मान्नै पर्छ, तर यो निर्णय त्रुटिपूर्ण छ र दुर्भाग्यपूर्ण छ ।” उनले अब जनतामा गएर विजयी हुने दावीसमेत गरे । उनले भने, “अदालतको निर्णयलाई मान्दै जनतामा गई जनताबाट निर्वाचित भएर आउने कोशिश गर्नेछु ।”
यस्तै नेकपा माओवादी केन्द्रका तर्फबाट भरतपुर महानगरपालिकाको प्रमुख पदकी उम्मेदवार रेणु दाहालले सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भएको प्रतिक्रिया दिएकी छिन् । फैसलाले जनताको अभिमतको कदर गरेको र जनताको पक्षमा फैसला भएको उनले बताइन्। उनले भनिन्, “कानुनलाई सर्वोपरी ठान्ने व्यक्तिको नाताले यो निर्णय सहर्ष स्वीकार्दै सम्मान र स्वागत गर्दछु ।”
चितवनको भरतपुर महानगरपालिकाको वडा नं १९ को मतगणनाका क्रममा गत जेठ १४ गते राति मतपत्र च्यातिएपछि मतगणना स्थगित भएको थियो । उक्त वडामा निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेपछि सोही वडाका एमालेका वडा सदस्य उम्मेदवार गुञ्जमान विक र अधिवक्ता तुलसी पाण्डेले आयोगको निर्णय विरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।












