एमालेको मुखमा बुझो लाग्ने गरी अदालतको फैसला
१५ साउन काठमाडौ । सर्वोच्च अदालतले भरतपुरमा पुनः मतदान गर्नुपर्ने फैसला सुनाएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतपत्र च्यातिएको विषयमा फैसला गर्दै अदालतले पुनः मतदान गर्न आइतबार आदेश दिएको हो ।
न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र ओमप्रकाश मिश्रको इजलासले पुनः मतदान गर्नुपर्ने फैसला सुनाएको हो ।
भरतपुरको मतगणना भइरहेका बेला मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेको थियो । आयोगको निर्णयविरुद्ध गत जेठ २१ गते सर्वोच्चमा रिट दायर भएको थियो ।
महानगरका २९ मध्ये २७ वडाको गणना सम्पन्न भएको छ । निर्वाचन आयोगले १९ वडामा पुनः मतदान गराउने निर्णय गरेको थियो । तर, आयोगको निर्णयविरुद्ध वडा नम्बर १९ का एमाले उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसी पाण्डेले सर्वोच्चमा रिट दायर गरेका थिए । सो रिटमाथिको सुनुवाइ गर्दै सर्वोच्चले यसअघि निर्वाचन आयोगले गरेको निर्णय सदर गरेको हो । च्यातिएका मतपत्र रद्द गर्दै बाँकी मतपत्र पुनः गणना गर्नुपर्ने माग कानुन विपरीत नभएको अदालतको फैसलामा उल्लेख छ ।
भरतपुरमा पुनः मतदान गराउने आयोगको निर्णयले दोस्रो चरणको निर्वाचनमा पनि मतपत्र च्यात्नेको मनोबल बढ्ने भनी नेकपा एमाले विरोधमा उत्रिएका थियो । अदालतले भने ढिलो गरी फैसला सुनाएर एमालेको मुखमा समेत बुझो लगाइदिएको छ ।
गत जेठ १४ गते राति भरतपुर– १९ को मतगणना हुँदाहुँदै माओवादीका प्रतिनिधिले केही मतपत्र च्यातेका थिए। त्यसपछि त्यहाँ पुनः मतदान गर्ने कि मतगणना अघि बढाउने भन्ने विवाद भएको थियो। निर्वाचन आयोगको बैठकले पुनःमतदान गर्ने निर्णय गरेको थियो। मतपत्र च्यातिएपछि मुख्य निर्वाचन अधिकृत कविराज न्यौपानेले आयोगलाई प्रतिवेदन पठाउँदै ‘मतगणनास्थल रणभूमितुल्य बनाइएको’ भनेका थिए।
माओवादीहरुले १९ वडाका २८६८ मध्ये २२०० मत गनिसकेपछि मतपत्र च्यातेका हुन्। त्यो वडापछि २० नम्बरको मात्र मतगणना बाँकी रहन्थ्यो। यी दुई वडाको मत गन्न थाल्नुअघि नेकपा एमालेका मेयर उम्मेदवार देवी ज्ञवाली र माओवादी केन्द्रका उम्मेदवार रेणु दाहालबीच जम्मा ७८४ मतको अन्तर थियो। १९ नम्बर वडाको १८०० मत गनिसक्दा त्यो अन्तर घटेर ७३३ मा झरेको थियो।
आइतबार राति १२ बजेसम्ममा उक्त वडाका थप ४०० मत गनिसकिएको थियो । मत गन्ने क्रममै माओवादी कार्यकर्ताले मतपत्र च्यातेका थिए । त्यसपछि सुरु भएको आपसी द्वन्द्वमा एमाले कार्यकर्ताले पनि मतपत्र च्यातेको समाचार सार्वजनिक भएको थियो । अब निर्वाचन अयोगले मिति तोकेपछि भरतपुर १९ मा पुनः मतदान हुनेछ।












