१५ साउन, काठमाडौं । निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन एकै पटक गर्न मिल्ने अवस्था नरहेको स्पष्ट पारेको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले संविधान, कानुन तथा निर्वाचनको व्यवस्थापकीय र प्राविधिक दृष्टिकोणबाट पनि प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन एकैपल्ट गर्ने अवस्था नरहेको प्रष्ट पारेका हुन्।
सरकारले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन एकैपटक गर्ने तयारी गरिरहेको छ । तर, निर्वाचन आयोगले भने त्यसो गर्न संविधान र कानुन अनुसार नै नमिल्नेतर्फ सरकारको ध्यानाकर्षण गराएको हो।
आइतबार बसेको व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समिति बैठकमा बोल्दै प्रमुख निर्वाचन आयुक्त यादवले प्रदेश सभाको निर्वाचन नभई राष्ट्रिय सभा निर्वाचन गराउन मिल्ने अवस्था नरहेको प्रष्ट पारे।
निर्वाचन आयोगले यसअघि नै असोज अन्तिम साता प्रदेश सभाको, कात्तिकको तेस्रो साता राष्ट्रिय सभाको र मंसिरको पहिलो साता प्रतिनिधि सभा निर्वाचन गर्नेगरी तयार पारेको कार्यतालिका सरकारलाई बुझाई सकेको छ।
प्रमुख निर्वाचन आयुक्त यादवले आगामी माघ ७ गते भित्र सबै तहको निर्वाचन सम्पन्न गराउन सरकार प्रतिवद्ध रहेको पनि दोहोर्याए।
प्रमुख निर्वाचन आयुक्त यादवले स्थानीय तह तेस्रो चरणको निर्वाचनको तयारीको कामलाई तीव्रता दिइएको पनि स्मरण गराए। असोज २ गते स्थानीय तह तेस्रो चरणको निर्वाचन सम्पन्न हुँदैछ । प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनका लागि भदौ ७ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय र भदौ १२ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने जानकारी दिए।
निर्वाचन आयोगले भदौ २१ गते उम्मेदवार मनोनयन हुने गरी स्थानीय तह तेस्रो चरणको निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ । प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनलाई कम खर्चिलो, पारदर्शी र निष्पक्ष बनाउन आयोग लागि परेको पनि बताए। उनले निर्वाचन सामग्री खरिद प्रक्रिया सार्वजनिक खरिद ऐनअनुसार गरिएको उल्लेख गरे।













