८ साउन, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच मन्त्रीपरिषद् विस्तार गर्ने बारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा एक÷दुई दिनभित्रै मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा सहमति भएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।
पार्टीको विस्तारित बैठकको निर्णय सार्वजनिक गरेपछि देउवालाई भेट्न पुगेका प्रचण्डले मन्त्रीपरिषद् विस्तारमा भएको ढिलाइबारे देउवासँग असन्तुष्टि पोखेका थिए । तर, देउवाले भने आफ्नो दलको केन्द्रीय समिति बैठक चलिरहेकोले आफ्नो समस्या बुझिदिन आग्रह गरेका थिए । आफ्नो दलको केन्द्रीय समिति बैठकको बीचमा मन्त्रीपरिषद् विस्तार गर्दा असन्तुष्ट पक्षले समस्या सिर्जना गर्ने भएको भन्दै केन्द्रीय समिति बैठकपछि मात्रै मन्त्रीपरिषद् विस्तार गर्ने देउवाले बताएका थिए ।
केन्द्रीय समिति बैठकमा पार्टी सभापति देउवाले चर्को आलोचना खेपिरहेका छन् । मन्त्रीपरिषद् विस्तारले अर्को समस्या थपिने भएकोले एकदुई दिन पर्खन देउवाले प्रचण्डलाई आग्रह गरेको स्रोतले बतायो ।












