८ असार, सिलिगुडी । विश्वको ठूलो लोकतन्त्र भनेर दावी गर्ने भारतले सञ्चारमाध्यमामाथि बन्देज लगाएको छ । भारतको पश्चिम बङ्गाल सरकारले नेपाली भाषी टेलिभिजन च्यानलको प्रसारणमा रोक लगाएको हो ।
सिलिगुडीमा रहेको एबिएन टेलिभिजनको प्रधान कार्यालयमा प्रहरीले सिलबन्दी गर्दै प्रसारण बन्द गराएको हो । प्रहरीले एबिएन नेटवर्कका कार्यकारी अधिकृत र मानव संशाधन विभाग प्रमुखलाई स्पष्टिकरण सोधेको छ ।
एबिएन नेटवर्कको व्यवस्थापनले आफूहरु सधैं तटस्थ रहेको र समाजको ऐनाका रुपमा समाचार प्रसारण गरेको तथा कुनै पूर्वाग्रह नराखिएको जनाएको छ । प्रहरीले रातको समयमा गएर टेलिभिजन कार्यालयमा ताला लगाएको थियो । शनिबार राति नौ बजे सबै कर्मचारीहरुलाई बाहिर निकालेर प्रहरीले सिलबन्दी गरेको थियो ।
सञ्चारमाध्यममाथि आक्रमण गरेपछि यसको विरोध भएको छ । पश्चिम बङ्गाल सरकार र मुख्यमन्त्री ममता वेनर्जीले लोकतन्त्रविरोधी कार्य गरेको भन्दै आन्दोलनकारी तथा वुद्धिजीवीले यसको विरोध गरेका छन् ।
पश्चिम बङ्गालका दार्जिलिङ, सिलिगुडी, कालेबुङलगायतका क्षेत्रमा चलिरहेको गोर्खाल्याण्ड आन्दोलनको समाचार प्रसारण गरेका कारण एबिएन टेलिभिजनको प्रसारणमा बङ्गाल सरकारले रोक लगाएको दावी टेलिभिजन व्यवस्थापनले गरेको छ ।















