८ असार, चितवन । शनिबार दिउँसोदेखि अवरुद्ध नारायणगढ–मुग्लिन खण्डको सडक आइततबार विहानदेखि खुलेको छ । कालीखोला र चेपाङडाँडाको बीचमा खसेको पहिरो पन्छाएपछि आज बिहान ४ः३० बजेबाट सडक पूर्णरुपमा सञ्चालनमा आएको हो ।
शनिबार दिउँसो ठूलो पहिरो खसेपछि सवारी आवागमन रोकिएको थियो । दिउँसो ३ः५० बजे मुग्लिनबाट २ दशमलब ३ किमी नारायणगढतर्फ पहिरो खसेको हो ।
पहिरो पन्छाउने क्रममा राति ८ बजेबाट एकतर्फीरुपमा सडक सञ्चालनमा आएको भए पनि विहानबाट मात्र पूर्णरुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी उपरीक्षक दीपक थापाले बताए।
सोही ठाउँमा गत महिना पहिरो खस्दा ३४ घण्टा सडक अवरुद्ध भएको थियो । सो सडकमा रातको समयमा आवागमन रोकिँदै आएको छ ।
सडकको स्तरोन्नतिका क्रममा भित्तो काटिएका ठाउँमा पटकपटक पहिरो खसेपछि राजधानी काठमाडौं आवतजावत गर्ने यात्रुले दुःख पाउँदै आएका छन् ।













