७ साउन, नेपालगञ्ज । नेपालगञ्ज-कोहलपुर सडकखण्डको भुजई गाउँमा रहेको केएल दुगड समुहको खाद्य गोदाममा शनिबार दिउँसो भीषण आगलागी भएको छ ।
शनिबार दिउसो करिब ३ः४५ बजेदेखि सुरु भएको सो आगलागी साँझ ७ः४५ बजे नियन्त्रणमा आएको छ । नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, गुलरिया नगरपालिकाका दमकल आगलागि सुरु भएको घण्टा डेढ घण्टाभित्रै घटनास्थल पुगेको भए पनि नेपालगन्ज बिमानस्थलको दमकल भने झण्डै ४ घण्टापछि मात्र घटनास्थलमा पुगेको थियो ।
गोदाममा भण्डारण गरेको गहुँ निकाल्न सजिलो होस् भनेर जेसीसीको समेत प्रयोग गरेको थियो ।
तेल र घिउ राखेको गोदामबाट आगो सुरु भएको प्रत्यक्षदर्शी सुरेश भण्डारीले बताए । उनले भने, ‘बाटोमा हिँड्दै थिएँ एक्कासी धुँवाको मुस्लो देखेँ । गोदामको माथिबाट आगो बलेको थियो ।’
आगलागीमा परेर कुनै मानवीय क्षति नभए पनि ठूलो मात्रामा भण्डारण गरेर राखिएको स्वस्तिक वनस्पति घिउm, सोयाबिन तेल र केही गहु जलेर नष्ट भएको दावी दुगड ग्रुपले गरेको छ ।
तीन वटा दमकल, स्थानीय प्रहरी नेपाली सेना र सशस्त्र प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरेपनि नसकेपछि जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत गृह मन्त्रालयमा अनुरोध गरेर विमानस्थलको दमकल आएको थियो ।
घटनास्थलमा पुगेका केएल दुगड समुहका नेपालगन्ज प्रबन्धक प्रदीप छाजेडले आगलागीको कारण खुल्न नसकेको बताए । उनले भने-‘शनिबारको दिन भएकोले घरमै थिएँ, एक्कासी गोदाममा आगलागी भएको खबर भयो । यहाँ आउदा देखेँ घिउ राखेको गोदाममा आगोको मुस्लो निस्किरहेको थियो ।’
दक्ष जनशक्तिको अभावको कारण आगो निभाउन घटनास्थलमा पुगेको कोहलपुर नगरपालिकको दमकलले आफैंले बोकेर ल्याएको पानी खोल्न नजान्दा एक ट्यांकर पानी त्यतिकै खेर गएको थियो ।
गोदामदेखि करिब ५ सय मिटरको दुरीमा रहेको होटल सिद्धार्थ भ्यूबाट पानी भर्ने व्यवस्था मिलाएको थियो । तर, पानीको भरमा तेल र घिउमा लागेको आगो नियन्त्रणमा लिन कठिन भएको घटनास्थल मै रहेका बाँके प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक टेकप्रसाद राईले जानकारी दिए ।
विमानस्थलमा रहेको ग्याँस सहितको दमकल पुगेपछि भने आगो नियन्त्रणमा आएको छ ।













