६ साउन, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंका सडकका खाल्डाखुल्डी १५ दिनभित्र पुर्न निर्देशन दिएपछि त्यसको कार्यान्वयन भएनभएको बारे प्रधानमन्त्री कार्यालयले छड्के अनुगमन सुरु गरेको छ । प्रधानमन्त्री देउवाले यही साउन १ गते १५ दिनभित्र उपत्यकाका खाल्डाखुल्डी पुर्न निर्देशन दिएका थिए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका सचिव चन्द्र घिमिरे, खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीम उपाध्यायलगायतको सरकारी टोलीले आज शुक्रबार राति १० बजे चाबहिल बौद्ध सडकखण्ड निर्माणको अनुगमन गरेको छ ।
अनुगमनमा पुगेका प्रधानमन्त्री कार्यालयका सचिव घिमिरेले भने, “सडक निर्माणका क्रममा सर्वसाधारणलाई असुविधा भएपछि प्रधानमन्त्रीको ध्यानाकर्षण भएलगत्तै हामीले दैनिकरुपमा रिपोर्टहरु लिइरहेका छौँ । हामी मध्यरातसम्म उपत्यकाका ठाउँठाउँमा गएर अवलोकन गरिरहेका छौँ । समयमै काम हुन्छ भन्ने हामीलाई विश्वास छ ।”
चाबहिल बौद्ध सडक निर्माणको जिम्मा भारतीय कम्पनी जेआइडिएसले पाएको छ । विगत एक वर्षदेखि सो सडकखण्ड अस्तव्यस्त हुँदा धेरै यात्रीले धेरै असुविधा भोगिरहेको स्थानीयवासी तथा पत्रकार चेतन पाण्डेले जानकारी दिए ।
पत्रकार पाण्डेसहित स्थानीयवासीले तीन महिनाअघि चावहिल क्षेत्रमा सडकको दुरावस्थाबारे विरोध प्रदर्शन गर्दै सडक अवरुद्ध समेत गरेका थिए ।












