३ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेताहरुले जम्बो केन्द्रीय समिति भङ्ग गरी संगठनलाई चुस्त दुरुस्त बनाउनका लागि माग गरेका छन् ।
विस्तार हुन नसकेको तथा जनतामा नसकिएको भन्दै नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकमा तत्काल सुधारको प्रक्रिया थाल्न नेताहरुले पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी केन्द्रीय सचिवालयको विस्तारित बैठकमा उनीहरुले स्थानीय तहको संगठन सुधार नै सवैभन्दा प्रमुख हतियार रहेको धारणा राख्दै चुस्त र दुरुस्त सांगठनिक संरचना तयार पार्न नेतृत्वको ध्यानकर्षण गराएका हुन् ।
स्थानीय तहको निर्वाचनमा अपेक्षित परिणाम निकाल्न नसक्नुको पछाडि आन्तरिक तयारीको अभाव, प्रभावकारी रुपमा नेता तथा कार्यकर्ता परिचालनमा देखिएको समस्या तथा गुटगत मानसिकताले पनि काम गरेको उनीहरुको भनाइ छ ।
बैठकमा उनीहरुले संगठनविनाको जम्बो केन्द्रीय समितिले काम गर्नै नसक्ने भन्दै चुस्त संगठन निर्माण गर्न, सबै तहका नेता तथा कार्यकर्ता एक तह घटेर काम गर्न तयार हुनुपर्नेमा जोड दिएका थिए ।
निर्वाचनको अनुभवको अभाव, विपक्षी पार्टीले गरेको गलत प्रचारको खण्डन गर्न नसक्नु, आर्थिक स्रोतको अभाव तथा सरकारमा बसेर गरेका प्रभावकारी काम जनताका बीचमा जान नसक्नु जस्ता कारणले पार्टीले अपेक्षित परिणाम हासिल गर्न नसकेको उनीहरुको टिप्पणी थियो ।
सोमबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धारणा राखेर सुरु भएको बैठकमा प्रदेशका इन्चार्जले आ–आफ्नो क्षेत्रको प्रतिवेदन पेश गरेका थिए । आज नेताहरु जनार्दन शर्मा, उर्मिला अर्याल, टेकबहादुर वस्नेत, जीवन बुढा, रामदीप आचार्य, पूर्ण सुवेदी, हेमराज भण्डारी, कमला रोका, डिलाराम आचार्य, दधिराम न्यौपानेलगायतले आफ्नो धारणा राखेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।
स्थानीय तहको निर्वाचन समीक्षा, भावी चुनावी रणनीति र सांगठनिक विषयमा छलफल गर्न बोलाइएको उक्त बैठक पुनः बुधबार ११ बजे बस्नेछ ।












