३ साउन, काठमाडौं । अन्ततः प्रमुख सत्तारुढ दल कांग्रेस र माओवादीले आफूले पाउने मन्त्रालयको सङ्ख्या बढाउने गरी सरकार विस्तारको टुङ्गो लगाएका छन् । मंगलबार साँझ बालुवाटारमा बसेको कांग्रेस र माओवादीका शीर्ष नेताहरुको बैठकले पहिलेको भागवण्डामा एकएक मन्त्रालय बढी लिने गरी मन्त्रीपरिषद् विस्तारको निर्णय गरेका हुन्। जसअनुसार कांग्रेसले १३ र माओवादीले ९ मन्त्रालय लिनेछन् । दुवै दलको आन्तरिक भागवण्डा पुर्याउन एकएक मन्त्रालय थप गर्ने सहमतिमा दुवै दल पुगेका हुन् । दुवै दलमा मन्त्री बन्ने आकांक्षीको संख्या बढ्दै गएपछि दुवै दलका नेतृत्वकर्ता आन्तरिक रुपले तीव्र दवावमा परेका थिए ।
राप्रपाको आन्तरिक किचलोका कारण र उपेन्द्र यादव २ नं प्रदेशको निर्वाचनअगाडि सरकारमा नजाने भएपछि कांग्रेस र माओवादीलाई कुचोले पन्छाउनुपर्ने कसिंगर हावाले उडाइदिएसरह भएर उनीहरुले थप मन्त्रालय समेत पाएका हुन् । नत्र त सरकारलाई समर्थन गर्ने साना दललाई आफ्नो भागमा परेका मन्त्रालय समेत दिन बाध्य हुनुपर्ने अवस्था थियो ।
साथै प्रमुख विपक्षी दल नेकपा एमालेको राय लिएर तत्काल निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्ने सहमति पनि दुर्इ दलबीच भएको छ ।
कुन दलले कुन मन्त्रालय लिने भन्ने विषयमा समेत दुई दलबीच सहमति भैसकेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । तर कुन दलको कुन मन्त्री कुन मन्त्रालयका लागि भन्ने कुरा सपथको समयमा मात्रै बाहिर ल्याउने अभ्यास भएका कारण दुवै दलले मन्त्रालयको भागवण्डा र मन्त्री बन्ने व्यक्तिको नाम गोप्य राखेका हुन् ।
वुधबार नै मन्त्रीपरिषद् विस्तार गर्ने तयारीमा रहेका कांग्रेस र माओवादीले वुधबार विहान समेत पुनः छलफल गर्ने बताइएको छ । राजपासँग समेत दुई दलले भोलि छलफल गर्ने तयारी गरेका छन् ।
यसैबीच सत्तारुढ दुई दलबीच प्रेश र संसदको निर्वाचन क्षेत्र निर्धारणका लागि आयोग गठन गर्ने सहमति भएको छ । प्रमुख विपक्षी एमालेको पनि राय लिएर आयोग गठन गर्ने विषयमा बैठकमा छलफल भएको थियो ।












