१ साउन, काठमाडौं । मधेसकेन्द्रित दलसँग रहस्यमय रुपले नजिकिएको एमालेले आफ्नै पहलमा उनीहरुसँग ‘परिणाममुखी’ वार्ता गर्ने निर्णय गरेको छ । मधेस केन्द्रित दलहरुसँग संविधान जारी भएदेखि नै तिक्ततापूर्ण सम्बन्ध रहेको एमालेले अब कांग्रेस र माओवादीलाई पाखा लगाएर आफूले मात्रै परिणामुखी वार्ता गर्ने निर्णय गरेको हो । कांग्रेस र माओवादीविना एमालेले कसरी परिणामुखी वार्ता गर्ने हो रहस्यको विषय बनेको छ । वार्ता परिणाममुखी भन्नुको अर्थ एमालेका लागि मात्रै परिणाममुखी हो या देशका लागि भन्ने प्रश्न पनि एमालेको निर्णयसँग उब्जिएको छ ।
आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा केक काटेर सुरु भएको एमाले स्थायी कमिटी बैठकले मधेसी दलसँग अनौपचारिक वार्ता जारी राख्ने निर्णय गरेको हो ।
मधेस केन्द्रित दलहरु राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक लगायतसँग अनौपचारिक छलफल भैरहेको समेत एमालेले दावी गरेको छ । पछिल्लो समय राजपा नेताहरुले समेत एमालेसँग सम्बन्ध सुधारको प्रयास भैरहेको बताउँदै आएका छन् ।
तीन दिनअघि काठमाडौंमा मधेसी बुद्धिजिवीहरुसँगको छलफलमा अध्यक्ष ओलीले अब एमालेले मधेस समस्या समाधानका लागि विशेष पहल गर्ने र आवश्यक परे संविधान संशोधनका लागि एमाले बाधक नबन्ने बताएका थिए ।
यसैबीच एमालेले २४० निर्वाचन क्षेत्र कायम राखेर चुनावमा जाने सरकारको प्रस्तावलाई अस्वीकार गरेको छ । हालै भएको प्रमुख तीन दलका दलको शीर्ष बैठकमा प्रधानमन्त्री शेरवहादुर देउवाले २४० निर्वाचन क्षेत्र राख्नेबारे राय मागेका थिए ।
एमालेले संविधान बमोजिम १६५ निर्वाचन क्षेत्र कायम हुनुपर्ने र निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्नुपर्ने माग समेत गरेको छ । पुरानै रुपले २४० निर्वाचन क्षेत्र मान्ने देउवाको प्रस्ताव देशलाई प्रतिगमनतिर लैजाने उनको पुरानै शैली भएको भनी एमालेले आशंका समेत व्यक्त गरेको छ ।












