समाचार टिप्पणी
३१ असार, काठमाडौं । अनेक टुक्रामा विभाजित मधेसकेन्द्रित दल एउटै छातामुनि आएर राजपा नामक दल निर्वाचन आयोगमा दर्ता गरे पनि सो दलले निवाचनका लागि छाता चुनावचिन्ह भने पाएको छैन । निर्वाचन घोषणा भैसकेपछि कुनै पनि दललाई चुनाव चिन्ह दिन नमिल्ने भएकाले राजपाले छाता नपाएको हो । शनिबार मात्रै आयोगले राजपालाई दल दर्ता गरी दलको मान्यता दिने निर्णय भए पनि चुनाव चिन्ह भने दिएको छैन । यस आधारमा राजपाले अन्य कुनै चुनाव चिन्ह लिएर असोज २ गतेका लागि घोषित प्रदेश नं २ को स्थानीय निर्वाचनमा सहभागी हुनुपर्ने छ ।
यद्यपि सरकारले चाह्यो भने नहुने के छ र । निर्वाचन घोषणा नै भएपछि दल दर्ता गर्न मिल्यो भने उसलाई चुनाव चिन्ह दिने कसरत सरकारले गरिरहेकै छ । त्यसका लागि निर्वाचन ऐन संशोधनको गृहकार्य भैरहेको छ । राजपाका माग सम्बोधन गर्न र उसलाई चुनावमा लैजाने वातावरण बनाउनका लागि सरकारले कांग्रेस, माओवादी र राजपा नेता सम्मिलित ३ सदस्यीय कार्यदल समेत गठन गरेको छ । कार्यदलमा माओवादी केन्द्रबाट नरायणकाजी श्रेष्ठ, कांग्रेसबाट विमलेन्द्र निधि र राजपाबाट वृषेशचन्द्र लाल रहेका छन् । कार्यदलले निकासका लागि तयारी गरी सरकारलाई सुझाव दिने छ ।
स्मरणीय छ निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि पहिले नै मतपत्र छपाइ गरिसकेको छ । पहिले नै मतपत्र छापेका कारण बाबराम भट्टराईको दलले मागेको आँखा चुनावचिन्ह आयोगले दिएको यिएन । आफ्नो दललाई चुनाव चिन्ह नदिएको भन्दै नयाँ शक्तिले निर्वाचन आयोगअगाडि प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा भट्टराई पत्नी हिसिलाले यो देश खारेज गरी भनी लगाएको नारा आलोचित बनेको थियो । संघर्षबाट पनि आफ्नो दलले चुनाव चिन्ह नपाएपछि बाबुरामको दल नयाँ शक्तिले उपेन्द्र यादवको दलको चुनाव चिन्ह भाडामा लिएर चुनाव लडेको थियो । बाबुरामको दलले शर्मनाक हार व्यहोर्नुको एउटा कारण अर्को दलको चुनावचिन्ह लिएर चुनाव लड्नुलाई पनि लिइएको छ ।
त्यसो त नयाँ चुनाव चिन्ह लिएर निर्वाचनमा जाँदा अझै खतराको घण्टी बज्ने हो कि भन्ने त्रास समेत राजपामा रहेको सो दलको एक नेताले जानकारी दिए । नयाँ चुनावचिन्हमा भोट हाल्न मधेसी जनता झुक्किने सम्भावना रहेको उनले बताए ।
यसविषयमा काठमाडौंको स्थानीय निर्वाचनमा एउटा नजिर समेत छ । उपमेयरमा एमालेसँग गठबन्धन गरेका राप्रपाका उपमेयरका उम्मेदवारका ६ हजारभन्दा बढी मत वयलगाडा (गोरु) मा खसेका थिए । वयलगाडा चिन्ह संविधान सभाको दल तमलोपाको हो । तर यतिेवेला ६ दल मिलेको राजपामा जुँगाको लडाइँ कायम रहेकोले कुनै एक दलको चुनाव चिन्ह लिएर राजपा निर्वाचनमा जाने सम्भावना समेत न्युन छ । वयलगाडा लिए राजेन्द्र महतो विच्कने, पञ्जा लिए अनिल झा विच्कने अवस्था छ ।
यस्तो समस्याको बीचमा कसरी पाउला त राजपाले छाता चुनाव चिन्ह । असोज २ का लागि निर्धारित निर्वाचनका लागि पहिले छापिएका मतपत्र रद्द गरेर भए पनि आफूहरुलाई चुनाव चिन्ह दिनुपर्ने जिकिर राजपाका नेताहरुको छ । एक महिनाभित्र नयाँ मतपत्र छाप्न सकिने सम्भावनाभित्र कार्यदलले सहमति खोजिरहेको छ ।
यसैलाई आधार मान्दै ऐन संशोधन गरेर राजपालाई नयाँ चुनाव चिन्ह दिने सम्भावना छ । तर, समस्या कहाँनेर छ भने नयाँ चुनाव चिन्ह नपाएर निहुँ खोजिरहेको राजपाले नयाँ चुनाव चिन्ह पाएपछि चुनाव हार्ने डरले चुनावमा नजाने हो कि भन्ने त्रासमा सत्तारुढ दल र विपक्षी एमाले समेत रहेको गोप्य स्रोत बताउँछ ।














