२९ असार, काठमाडौं । नेपाली काँग्रेसका नेपाली कांग्रेसका संस्थापक नेता एवम् पूर्वमन्त्री रामहरि जोशीको आज विहीबार साँझ निधन भएको छ ।
दम र निमोनियाको उपचार गराइरहेका नेता जोशीको आज साँझ ७ः३० बजे ग्राण्डी अस्पतालमा निधन भएको उनका भतिजा विष्णु जोशीले जानकारी दिए। ग्राण्डी अस्पतालका निर्देशक डा. चक्रराज पाण्डेले जोशीलाई निमोनिया भएको र फोक्सो र असर परेको बताए। उमेरका कारण रक्तचाप नियन्त्रणमा ल्याउन समस्या भएको पाण्डेले बताए । हरसम्भव प्रयास गर्दा पनि बचाउन नसकिएको उनले जानकारी दिए ।
घरको शौचालयमा लडेर चोट लागेपछि उनलाई यही असार २१ गते अस्पताल भर्ना गरिएको थियो । जोशीको बोन फ्याक्चर भएका कारणले निमोनियाको संक्रमण जिउभरि फैलिएकोले समस्या बढेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
सर्लाही स्थायी घर भएका उनी ललितपुरको नख्खीपोटमा आफन्तका घरमा बस्दै आएका थिए।
विसं १९८३ मा सर्लाहीमा जन्मिएका नेता जोशी नेपाली राजनीतिमा गान्धीवादी र समाजवादी नेताका रुपमा परिचित थिए ।
नेता जोशीको शुक्रबार बिहान आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । काँग्रेसमा हालका नेतामध्ये सबैभन्दा पाका नेताका रुपमा रहेका उनी अविवाहित थिए । आजीवन पार्टी र प्रजातन्त्रका लागि लड्दा उनलाई जेल हालिएको थियो । करिब नौ वर्ष कारागारको जीवन विताएका उनी विसं २०४८ को गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री थिए ।
काँग्रेसले नेता जोशीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
यसैबीच कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले ट्वीट गर्दै जोशीको निधनले आफू अत्यन्त दुःखी भएको भन्दै जोशीको आत्माको चीर शान्तिको कामना गरेका छन् ।












